साउदीबाट थानेश्वर फर्किँदा विमानस्थलमा देखिएको खुसी

 जेठ २६, २०७५ शनिबार १३:४०:४३ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – साउदी अरबमा आजिवन जेल सजाय पाएका नवलपरासीका थानेश्वर भुषाल शुक्रबार नेपाल फर्किनुभएको छ ।

शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट थानेश्वर हाँस्दै बाहिर निस्कनुभयो । मृत्युलाई जितेर फर्किएका थानेश्वर विमानस्थल पुग्ने सबैलाई हेरेर मुस्कुराइरहनुभयो । 

छोरो फर्किँदाको खुशी आमा यमकला भुषालका आँखामा प्रष्टै देखिन्थ्यो । छोरा जेलबाट छुटाउन हारगुहार माग्दा गलेकी यमकला आफ्नै आँखा अगाडि छोरालाई देख्दा अचम्म मान्दै मुस्कुराइ रहनुभयाे । 

थानेश्वरले भने विमानस्थलको भिड देख्दा अनौठो मानेझंै व्यवहार गर्नुभयो । घरि भिडतिर हेर्नुहुन्थ्यो त घरिघरी रुनुहुन्थ्यो । एक लाख २५ हजार रुपैयाँ ऋण काढेर २०६७ सालमा साउदी गएका थानेश्वरले १० महिनाभन्दा काम गर्न पाउनुभएन । 

१० महिना थानेश्वरले चलाएको गाडी दुर्घट्नामा पर्दा दुई जनाको ज्यान गएको थियो । । थानेश्वरले चलाउने गाडीलाई पछाडिको गाडीले ठक्कर दिएको थियो । उहाँले चलाएको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडिको गाडीलाई थानेश्वरले चलाएको गाडिले ठक्कर दियो । र, दुवै गाडीमा रहेका दुई जनाको ज्यान गएको थियो । 

यही आरोपमा अदालतले भुषालले एक लाख ५० हजार रियाल अर्थात झण्डै ४५ लाख रुपैयाँ ब्लड मनी तिर्नु पर्ने फैसला सुनाएको थियो ।

झण्डै ७ वर्ष जेलमा बस्दा थानेश्वरलाई पनि फर्किन पाउँछु भन्ने आश मरेको थियो । ‘म त आउनै सक्ने थिइन तपाईँहरुकै सहयोगले फर्किन पाएँ, एकदमै खुसी लागेको छ,’ थानेश्वरले भन्नुभयो । 

थानेश्वरले जेलमा छँदा उहाँलाई फोन गर्ने र सहयोग गर्नेहरुको नाम टिपेर राख्नुभएको रहेछ । सहयोग गर्ने मानिसहरुको नाम हेर्दै थानेश्वरले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

आमा यमकलाले पनि छोरो फर्काउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । ‘तपाईँहरुकै सहयोगले मेरो छोरो फर्कियो, सबैलाई धन्यवाद दिन चाहन्छु,’ यमकलाले भन्नुभयो । 

थानेश्वर जेठ १४ गते जेलमुक्त हुनुभएको थियो । साउदीमा सबै कानुनी प्रक्रिया मिलाएर फर्किएको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिनुभयो । 

थानेश्वर जेल परेपछि आमा यमकलाले धेरै तिर हारगुहार माग्नुभयो । थानेश्वरले तिर्नुपर्ने ब्लडमनी जुटाउन काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समितिले यमकलालाई साथ दियो । 

पिएनसिसीको अगुवाइमा थानेश्वर भुसालको सहयोगका लागि ब्लड मनी रकम संकलन अभियान सञ्चालन गरेर ४५ लाख रुपैयाँ ब्लडमनी बुझाएपछि थानेश्वर नेपाल फर्किनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया