पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

 असोज ५, २०८० शुक्रबार ९:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षकाे उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति  काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले चुनाव लड्नु भएन । उहाँ गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ ।

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फाेट गराएको थियो । उहाँ त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । जनवादी मोर्चाबाट उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक-पटक जेलसमेत पर्नु भएको थियो  । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: असोज २१, २०८०

तपाईको प्रतिक्रिया