सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन

 असोज ८, २०८० सोमबार १०:३:३७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ कुलेश्वरका कृष्ण रिजालले व्यापार गर्न थालेको झण्डै ३० वर्ष भयो । यो ३० वर्षमा उहाँले स्टेशनरी र लत्ताकपडाको व्यापार गर्नुभयो । पछिल्लो समय भने उहाँ लत्ताकपडाको व्यापारमा मात्र केन्द्रित हुनुहुन्छ । उहाँको पसल काठमाण्डौ रणमुक्तेश्वरको आरबी कम्प्लेक्समा छ । तर, गएको चार/पाँच वर्षदेखि व्यापारमा मन्दी आउन थालेको र अहिलेको अवस्था भने चरम भएको रिजाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘तीन/चार वर्षयता लकडाउनदेखि कपडाको व्यापार गर्न सक्ने अवस्था छैन । तर, पनि स्थिति सुध्रिएला भनेर व्यवसाय छाडेका छैनौँ । निरन्तरता छ । तर, यही अवस्था रहिरहने हो भने विकल्पका बारेमा सोच्नुपर्छ ।’

यो गुनासो रिजालको मात्र होइन, धेरै व्यापारीको हो । बजारमा गएर सोध्दा, हेर्दा र बुझ्दा यो परिस्थिति सजिलै देख्न सकिन्छ । कुनै समय सलामी तिरेर किन्नुपर्ने न्युरोडका पसल अहिले भाडा तिर्न नसकेर धेरै बन्द छन् । धेरै शटरहरुमा ‘टु–लेट’ अर्थात् भाडामा भनेर लेखिएको बोर्ड देख्न सकिन्छ । अहिले धेरै व्यापारीहरु मुखैमा आउँदै गरेको झण्डै एक महिना बाँकी रहेको दशैँ तिहारमा कस्तो व्यापार हुन्छ त्यसपछि व्यवसायको बारेमा निर्णय गर्ने सोचमा पुगेका छन् । कतिपय व्यापारीहरु भाडा तिर्न नसकेर सम्पर्कविहीन भएपछि काठमाण्डौ महानगरमा शटर खाली गराइदिन घरधनीले निवेदन दिन थालेका छन् । 

भूकम्प र लकडाउन पछाडि आउन थालेको आर्थिकमन्दीको अहिले चर्को प्रभाव परेको रिजालको भनाइ छ । सरकारले विकास खर्च गर्न नसक्नु, नागरिकका हातमा पैसा नहुनु, सहकारी र माइक्रोफाइनान्सका कारण नागरिकका रकम फस्नु, घरजग्गा र शेयरको कारोबार डामाडोल हुनु अहिलेको मन्दीको प्रमुख कारण भएको रिजाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘मध्यमवर्गका मानिसहरु र अरु सामान्य व्यापारीले सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरिराखेका थिए । अब त्यो स्थिति पनि रहेन । बैंकसँग ऋण लिन मध्यमवर्गसँग प्रावधान पूरा गर्न सक्ने अवस्था छैन । धितो जमानी पनि त्यति पर्याप्त छैन । त्यसकारण अहिले आर्थिक गतिविधि नै सबैतिर सुस्त छ । त्यसैले अहिले व्यापार व्यवसाय लगभग ठप्प जस्तै छ ।’

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७९/८० को वार्षिक तथ्याङ्क हेर्ने हो भने आर्थिक स्थिति मजबुत देखिन्छ । २०८० असार मसानतसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ५७ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । जसमा निजी क्षेत्रलाई दिएको कर्जा ४७ खर्ब ९७ अर्ब छ । यस हिसाबमा पनि बैंकहरुमा तरलता यथेष्ट छ ।

रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको छ । यसैगरी विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर छ । त्यो भनेको १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हो । यसरी अर्थतन्त्रका सबै सूचक राम्रा हुँदाहुँदै पनि बजार भने सुस्त छ ।

‘राष्ट्र बैंकको तथ्याङ्कले जे-जे भने पनि बजारमा व्यापार छैन । वास्तविकता यही हो,’ रिजाल भन्नुहुन्छ, ‘बैंकसँग पैसा त छ । तर, ऋण लिनै गाह्रो छ । अर्को भनेको ऋण लिएर पनि के गर्ने व्यापार नै नभएपछि ।’

रिजालका अनुसार सरकारले पर्याप्त विकास खर्च गर्न नसक्दा पैसा सामान्य नागरिकका हातमा पुगेन । सेना, प्रहरी र निजामतीको तलबमा मात्र खर्च हुँदा त्यसले बजार चलायमान भएन । अर्को भनेको घरजग्गा कारोबार नहुँदा त्यसले सम्पूर्ण बजारलाई जसरी चलायमान बनाउँथ्यो बनाउन सकेन । 

रिजाल भन्नुहुन्छ, ‘सरकार अनुत्पादक क्षेत्रमा लगानी नगर्ने भन्छ । उत्पादनशील क्षेत्र नै छैन । कलकारखाना कुनै चलेका छैनन् । त्यो भनेको आज लगानी गरेर भोलि नै आइहाल्ने स्थिति पनि होइन । अब घरजग्गामा लगानी नगर्दा सम्पूर्ण बजार नै सुस्तायो ।’

रिजालको कुरामा सहमति जनाउनुहुन्छ हार्डवयर व्यवसायी समुन्द्र रिजाल । बल्खु चोक तथा कलङ्की खसीबजार नजिकै हार्डवयर तथा सेनेटरीको व्यवसाय गर्नुभएका रिजालले हालै बल्खु चोकको पसल नै बिक्री गर्नुभयो । सात वर्ष अगाडि पाँच लाख रुपैयाँ सलामी तिरेर लिएको शटर अहिले सबै भएका सबै सामानको हिसाब गरेर मूल्य राख्दा पनि नआएपछि घाटा खाएर बेच्नु परेको रिजाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘महिनाको झण्डै एक लाख भाडा अनि अरु स्टाफ खर्च गरेर एक लाख गर्दा धान्नै सकिएन । त्यसैले पसल नै बेच्नुपर्यो । अहिले पसल चलाएर नाफाभन्दा पनि पसल बेच्दा महिनाको दुई लाख रुपैयाँ जोगियो भन्नुपर्ने स्थिति छ ।’

उहाँका अनुसार पहिले व्यापार हुँदा महँगो ब्याजमा भए पनि बैंकसँग कर्जा लिएर पनि व्यापार गरियो । तर, अब अहिले त व्यापार नै नभएको अवस्थामा ऋण लिएर मात्र पनि के गर्ने । कसरी ब्याज तिर्ने भन्ने अवस्था छ । मानिसहरु दर्शैँतिहारमा घर सर्ने, मंसिरमा बिहेका लागि घर तयार गर्ने भएको हुँदा यो समय भनेको सेनेटरी व्यापारको लागि उच्चतम समय हो । तर, अब यही बेलामा व्यापार छैन भने ऋण लिएर मात्र के गर्ने भन्ने उहाँको तर्क छ ।

उहाँ भन्नुहुन्छ, ‘पहिले व्यापार हेरेर धितोको ७०/८० प्रतिशत कर्जा पाइन्थ्यो । अहिले घटेर झण्डै ४०/५० प्रतिशत भएको छ । कर्जा पाउन पनि गाह्रो छ । अर्को भनेको यति महँगो ब्याजदरको कर्जा लिएर पनि अब के गर्ने ?’

उहाँका अनुसार बैंकले ब्याजदर घटाएर एक अङ्कमा सीमित गर्ने अनि घरजग्गाका लागि पनि कर्जा प्रवाह गर्ने हो भने बिस्तारै बजार चलायमान हुन्छ । अन्यथा यही स्थितिमा बजार चलायमान हुन गाह्रो छ ।

खिचापोखरीमा जुत्ता व्यापार गर्ने विष्णु आचार्य पनि बजारको अहिलेको अवस्था देख्दा के गर्ने के नगर्ने भन्ने द्विविधामा हुनुहुन्छ । दशैँ आउँदै गर्दा अहिले व्यापारमा भ्याइनभ्याइ हुनुपर्नेमा को आउँछ भनेर हेरेर बस्नुपरेको स्थिति रहेको आचार्य बताउनुहुन्छ । 

यसका कारणका बारे उहाँका आफ्ना केही अनुमान छन् । पहिलो कुरा बैंकसँग पैसा भए पनि सामान्य मान्छेले ऋण लिन नसक्ने । अर्को भनेको धेरै सहकारी समस्याग्रस्त हुँदा ऋणको त के कुरा भएको बचत नै पाउन नसकेपछि बजार कसरी चल्नु । 

उहाँले अहिले बजार नचल्नुमा धेरै युवा विदेशिनुलाई पनि एउटा कारण मान्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिले उपभोग गर्ने वर्ग नै विदेशमा छ । यसो फेशन हेरेर लगाउने बजारमा चहलपहल ल्याउने भनेको युवाले नै हो । उनीहरु नै नभएपछि बजार कसरी चल्छ । उमेर भएकाले के नै उपभोग गर्ने हो र ।’

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव तथा व्यवसायी भरत कार्की पनि बजारको अहिलको अवस्थाले चिन्तित हुनुहुन्छ । चीनबाट तयारी पोसाक तथा जुत्ता आयात गरेर व्यापार गर्दै आउनु भएका कार्की पाँच वर्षयता हरेक वर्ष व्यापार खस्कँदै गएको बताउनुहुन्छ । 

व्यापार खस्कनुमा सरकारको नीति, बैंकको ब्याजदर, समय परिस्थिति सबै जिम्मेवार रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘एउटा बिरामी ओपीडी, जनरल बेड, आईसीयू, सीसीयू हुँदै भेन्टिलेटरमा पुगे जस्तै अहिलेको व्यापार पनि भेन्टिलेटरमा पुग्न लागे जस्तो अवस्था हो ।’ 

बैंकको चर्को ब्याजदर, ऋण लिन झण्झटिलो प्रक्रिया र उपभोक्ताको क्रयशक्ति नै घटेका कारण व्यापारमा मन्दी आएको कार्कीको भनाइ छ । उहाँका अनुसार पनि ठूलो मात्रामा युवा जनशक्ति विदेशिनु पनि व्यापारमा कमी आउनुको एउटा कारण हो । त्यसमा भन्सार महसुल अधिक भएका कारण सामानको भाउ महँगो हुनु र उपभोक्ताको क्रयशक्ति नै घट्नु व्यापारको मन्दीका कारणहरु हुन् । यो अवस्थामा सुधार ल्याउन बैंकको कर्जा लिन सरल प्रक्रिया, ब्याजदर घट्नु पर्ने र भन्सारलगायतका अन्य शुल्कमा पूनर्विचार गर्नुपर्ने उहाँको तर्क छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले ब्याजदर, भन्सार महसुल अलि घटाउने हो र सरकारले अन्य नीतिगत सुधार गर्ने हो भने व्यापारको अवस्था केही सुध्रन्छ होला । तर, यसले अहिले तत्काल नै असर देखाउने भन्ने हुँदैन । यस्ले एउटा आत्मबल दिन्छ । त्यो नै अहिलेको लागि सबैभन्दा ठूलो कुरा हो ।’ 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया