सभागृह अगाडि उभिरहेका ई !

 असोज ९, २०८० मंगलबार ८:३९:२६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

प्लास्टिकको निलो चप्पल । चप्पल चुँडिएर बाहिर आउला जस्तो गरी सुन्निएको खुट्टा । निलो टिसर्ट । कालो हाफ पाइन्ट । मोटो, अग्लो शरीर । यो शरीरलाई टेको दिइरहेको सानो लट्ठी । यी हुन् ‘ई’ । आफूलाई ई भनेर चिनाउने उहाँ एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहनुभएको छ । 

काठमाण्डौ महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ । यदाकदा भेटिइ हाल्यो भने नगर प्रहरीले व्यापारीको सामान खोस्ने, ठेला गाडा जफत गर्ने गरेको छ । यतिले नपुगेर हातपातसमेत हुने गरेको छ । ई को विरोध यसैमा हो ।

‘चुनावभन्दा अगाडि अहिलको मेयर अनि उपमेयरले सडक व्यवसायीलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । साइकल, गाडा, सडक व्यवसाय र परम्परागत व्यवसाय जस्तै खर्पन, नाम्लोमा बोकेर बेच्नेलाई निश्चित ठाउँ, निश्चित समय र केही शुल्क लिएर व्यवसाय गर्न दिने कुरा थियो । जुन अन्तर्राष्ट्रिय अभ्यास पनि हो । विश्वका विभिन्न सहरमा पनि यस्तो हुने गरेको छ । त्यस्तै अभ्यास अन्तर्गत रहेर काठमाण्डौ महानगरपालिकामा पनि समाधान दिन सकिन्छ भनेर उहाँहरुले भन्नु भएको थियो,’ ई भन्नुहुन्छ ।

तर, मेयर, उपमेयर निर्वाचित भइसकेपछि आफूले चुनाव अगाडि भनेको कुरा बिर्सिएको उहाँको आरोप छ । यसकारण यसको विरोधमा तीन महिना अगाडिदेखि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने अभियान चमेली ग्याङले चलाइरहेको थियो । यसको विरोधमा सभागृह तथा बागदरबार बाहिर पनि यो समूहले प्रदर्शन गरेको थियो ।

‘यसको विरोधमा हामीले अनलाइन डिस्कोर्स पनि चलायौँ । के या हिंसा हामीले सहनुपर्छ र ? यो हिंसा ठीक हो र ? सडकमा साइकलमा मजदुरी गरिरहेको मान्छेलाई कुटपिट गर्नु, दुःख दिनु, पीडा दिनु, प्रताडना दिनु ठीक हो र ?’ उहाँ भन्नुहुन्छ ।

हिजो गरिबको चमेली बोल्दिने कोही छैन भनेर गीत गाउने अनि आज हिंसा गर्नु ठीक हो र भनेर प्रश्न गर्दा केही सिप नलागेपछि अन्तिम विकल्पकोरुपमा आफू सभागृहको गेट अगाडि उभिएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘अन्तिम विकल्पकोरुपमा म एउटा व्यक्तिले के गर्न सक्छु त भन्दा काठमाण्डौ महानगरपालिकाको अगाडि आएर एउटा नैतिक प्रश्नकोरुपमा ७७ घण्ट उभिन सक्छु भनेर उभिन थालेको हो । ७७ बाट १ यस २३ भयो । १ सय २३ बाट अब अहिले १ सय ९९ भएको छ । बुधवार बेलुका १० बजेसम्म ।’

चुनावको समयमा मेयर बालेन्द्र शाहको क्याम्पेनरको रुपमा ईलगायतको टिम सहभागी थियो । तर, अहिले उहाँहरु विरोधमा उत्रिनु भएको छ । ईको यस अभियानमा अहिले हिजो मेयर बालेन्द्र शाहको कोर क्याम्पेनरकोरुपमा सहभागी भएका साथीहरु पनि उभिनु भएको छ ।

यसमा यस्तो छ उहाँको प्रष्टीकरण, ‘म होइन । पहिलो पाँच दिन यहाँ सँगै उभिनु भएको चाउ न्यौपाने चाहिँ कोर क्याम्पेनर नै हुनुहुन्थ्यो बालेनको । प्रविण काफ्लेलगायत अरु क्याम्पेनर पनि पाँच दिन उभिनु भएको थियो ।’

युवा भनेको उमेर कम हुनु मात्र होइन फरक हो भनेर देखाउने हो भने सहानुभूतिशील पनि हुनुपर्ने उहाँको तर्क छ ।

उहाँ भन्नुहुन्छ, ‘युवा नेतृत्वले साँच्चिकै पहिलाको भन्दा फरक हो भनेर देखाउने हो भने पहिलो कुरा सहानुभूतिशील हुनुपर्यो । करुणादायी हुनुपर्यो । दोस्रो कुरा भनेको जवाफदेही जिम्मेवार हुनुपर्यो । तेस्रो कुरा भनेको हिजो चुनाव अगाडि देखाइएको जुन सपना थियो त्यही अनुरुप इनोभेटिभ र प्रोएक्टिभ लिडरसिप दखाउनुपर्यो । खेद्ने, कुट्ने, लखेट्ने होइन नवीन उपाय ल्याएर समस्या समाधान गर्न प्रतिबद्ध हुनुपर्यो भन्ने कुरा हो । तर, त्यस्तो देखिरहेको छैन ।’

सहर भनेको सबैलाई हाँस्न, खेल्न रमाउन मिल्ने शान्तिपूर्ण सहर बनाउने कि गाडीहरुको लागि मात्र बनाउने भन्ने उहाँको प्रश्न छ । उहाँ भन्नुहुन्छ, ‘चुनावअघि उहाँले यसलाई सबैको सहर बनाउने । गरिबको चमेली बोल्दिने कोही छैन भनेर सीमान्तकृत, पिल्सेको वर्ग, सहरको सबैभन्दा कमजोर वर्गको पक्षमा म उठ्छु । म नयाँ नेता आएँ भनेर आशा जगाउनु भयो । तर, अहिले त्यसको ठीक विपरीत व्यवहार देखिइरहेको छ ।’

आश गरेको नेतृत्वले अहिले निराश पारिरहेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘जोसँग आश गरिन्छ नि उसँग जवाफदेहिता मागिन्छ । यदि उहाँले हामीलाई आशै मर्ने स्थितिमा पुर्याउनुहुन्छ र यो खुट्टामै उभिन नमिल्न स्थितिमा पुर्याउने हो भने त त्यसमा आश मार्नुबाहेक अर्को विकल्प हुँदैन होला ।’

उहाँ अहिलेम्म नेतृत्वले वार्ताका लागि नबोलाएको पनि बताउनुहुन्छ । भेट्दा सडक व्यवसाय छ भनेर स्वीकार गरेको हुन्छ भन्ने लागेर उहाँले नबोलाएको हुनसक्ने पनि उहाँको आरोप छ । तर, मेयर बालेन्द्र शाहले भने उहाँहरु वार्तामा बस्न नचाहेको आरोप लगाइरहनु भएको छ ।

उहाँका अनुसार नगर प्रहरीले झर्केर आएर मेयरले भेट्न खोजेको कुरा गरे । तर, आफू कानुन र सहरी विज्ञ नभएको हुँदा ती साथीहरुलाई बोलाउन आधा घण्टाको समय दिनुस् भन्दा त्यसो भए मेयरले भेट्दैनन् भनेर भने । 

उहाँ भन्नुहुन्छ, ‘यहाँ सडक व्यापारी साथी साक्षी हुनुहुन्छ । अभियानकर्ता साक्षी हुनुहुन्छ । नगर प्रहरीले आएर झर्केर मेयरले भेट्न खोज्दैछन् भने । हामीले ३० मिनेट समय दिनुहोस् भन्यौँ । त्यसपछि तुरुन्तै नगर प्रहरी आएर त्यसो भए मेयरले भेट्दैनन् भनेर भने । त्यसो भए स्वस्ती श्री गर्नु बाहेक, श्री ६ महाराज भनेर ढोग्नु बाहेक के बाँकी भयो । यो बडो निराशाजनक कुरा भयो ।’ 

उहाँ बिहान पाँच बजेर उठेर नियमित कर्म गरेपछि उभिन शुरु गर्नुहुन्छ । यो क्रम रातिको झण्डै साढे एघार बाह्र बजेसम्म चल्छ । रातिको चार/पाँच घण्टा भने उहाँ प्लास्टिकको कुर्सीमा सुत्नुहुन्छ । तर, अघिल्लो हप्ता मङ्गलवार उभिने अभियान शुरु गरेदेखि भने उहाँ थचक्क बस्नु भएको छैन । राति केही सडक व्यापारी साथीहरु उहाँसँगै बस्नुहुन्छ । दिउँसो अभियानमा साथ दिने साथीहरु आउने जाने क्रम चलिरहन्छ । उहाँहरु पनि सँगै उभिनुहुन्छ ।

खान खाने उहाँको कुनै निश्चित समय छैन । दिउँसोको तीन/चार/पाँच जति पनि बज्न सक्छ । भ्याउँदा उहाँ भृकुटी मण्डपको ढकाल तन्दुरीमा गएर खाना खानुहुन्छ । त्यसबेला १० मिनेट बस्नुहुन्छ । त्यसपछि फेरि आएर उभिने नै हो । भृकुटी मण्डप जान नभ्याउँदा भने उहाँ काठमाण्डौ मोडल हस्पिटल अगाडिको लुम्बिनी तन्दुरी अगाडिबाट खाना मगाएर खानुहुन्छ ।

यदि वार्ता भएन भने निराश हुनुबाहेक अर्को विकल्प नभएको उहाँको भनाइ छ । आफू व्यक्ति भएको र कुनै दल सङ्गठन नभएकोले शरीरले साथ दिएसम्म घच्घच्याउने उहाँको लक्ष्य छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी जुन नैतिक प्रश्न लिएर यहाँ उभिइरहेका छौँ त्यो समाधान भएन भने एउटा पूरै पुस्ताको आश उहाँबाट समाप्त हुन्छ । काठमाण्डौको सहरी पुस्ताको आश समाप्त हुन्छ । तर, आश भएसम्म जवाफदेहिता मागिरहन्छौँ । आशै भएन, उर्जै भएन भने त के गर्ने ?’

कतिपयलाई ई भनेको के हो भन्ने जिज्ञासा पनि रहने गर्छ । तर, १४ वर्षदेखि विभिन्न अभियानमा हिँड्न थालेको बताउने ई जात, समुदायको सम्बन्धबाट आफूलाई अलग बनाउन ई नामबाट चिनिन चाहेको पनि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म आफूलाई ई मात्र भन्छु ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया