ग्वार्को फ्लाइओभरको मुख्य काम शुरु : समयमै सकिनेमा आशङ्का

 असोज १०, २०८० बुधबार ११:४४:१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

चाबहिल बस्ने हर्कबहादुर तामाङ टेम्पो चलाउनुहुन्छ । हरेक दिन उहाँ ढल्को, मैतीदेवी, सिनामंगल, कोटेश्वर, ग्वाको, सातदोबाटो, एकान्तकुना, बल्खु ओहोरदोहोर गर्नुहुन्छ । ग्वार्कोमा बन्न लागेको फ्लाइओभरका कारण अरु चालकले जस्तै उहाँले पनि धेरै समस्या भोग्नुभएको छ । जाममा धेरै बेर बस्नुपर्ने, समयमा पुग्न नसकिने, यात्रु रिसाउने, जामका कारण बीचमै यात्रुहरु ओर्लेर हिँडिदिने, पैसा नदिने जस्ता समस्या उहाँले भोग्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘यसले हामीलाई धेरै नै समस्या छ । फ्लाइओभर बनाउन थालेपछि जाम धेरै भयो । अफिस टाइममा झन धेरै जाम हुन्छ । दिउँसो पनि जाम हुन्छ । आधा घण्टा त सामान्य जस्तै हुन्छ । पुरै जाम हुन्छ । यसले गर्दा हामीले ट्रीप पनि नभ्याउने हुन्छ ।’

गएको मंसिरमा बनाउन शुरु गरिएको फ्लाइओभरको डिजाइनमा समस्या आएपछि झण्डै सात/आठ महिना काम हुन सकेन र निर्माण रोकिएको थियो । भदौको दोस्रो हप्तादेखि फेरि काम थालिएको छ ।
निर्माण कम्पनी आशीष–समानान्तर–रेलिगेर जेभीका साइट इन्जिनियर प्रदीप भट्टराई अहिले फ्लाइभोरको पिलर बनाउने काम भइरहेको बताउनुहुन्छ । अहिले ३० मिटर गहिरो पाइल अर्थात पिलर बनाउने काम भइरहेको भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिलेको डिजाइनमा परिवर्तन भएपछि अहिले ३० मिटर गहिरो पाइल बनाउने काम भइरहेको छ ।’

ग्वार्कोको सडकमा अहिले फ्लाइओभरका लागि पाइल अर्थात् पिलर बनाउने काम भइरहेको छ । काम भइरहे पनि टेम्पो चालक तामाङलाई भने यो समयमै सकिनेमा आशङ्का छ । र आफूहरु जस्ता दैनिक यो रुटबाट आउजाउ गर्नुपर्नेहरुलाई यो जामबाट छिटै उन्मुक्ति पाइन्छ भन्नेमा विश्वास छैन । उहाँ भन्नुहुन्छ, ‘पहिले डीपीआर बिगार्यो भन्ने कुरा भयो । अहिले फेरि होल खोपिराखेको छ । पुल कहिले बन्ने हो थाहा छैन । १७ महिनामा सक्ने भन्ने सुनेको हो । यत्रो समय लागिसक्यो अहिलेसम्म आधा काम त भएको छैन । हामीलाई त एकदमै दुःख छ ।’

यस्तै अप्ठेरो महसुस गर्नुभएको छ फ्लाइओभर बन्दै गरेको ग्वार्को सर्भिस लेन नजिकै सिसा पसल भएका पसले रोहनप्रताप श्रेष्ठले पनि । फ्लाइओभर बनाउन सडकको मुख्य लेन बन्द गरिएको छ । अहिले सर्भिस लेनमा गाडी गुड्ने गरेको छ । सर्भिस लेनमा जोडिएको पसल भएको हुँदा जाम, धुलो धुवाँ खानु दैनिकी बनेको गुनासो छ श्रेष्ठको । उहाँ भन्नुहुन्छ, ‘बीचको बाटो बन्द भएपछि सर्भिस लेनमा गाडीको चाप पर्नु स्वभाविक नै हो । यसले दिउँसो भन्दा पनि बिहान र बेलुका भने एकदमै जाम हुन्छ । र जामले हामीलाई एकदमै गाह्रो बनाएको छ ।’

अहिले फ्लाइओभरको काम पुनः शुरु भए पनि समयमै सकिने र यो जामबाट छिटै छुटकारा पाइनेमा उहाँ पनि आशङ्का व्यक्त गर्नुहुन्छ, ‘हामीले अहिलेसम्म देखेको अनुसार कुनै पनि काम समयमा भएको छैन । हामीले अपेक्षा पनि त्यही गरिरहेका थियौँ । त्यसकारण छिटै बनेर समयमै सकिन्छ भन्ने कुरामा भने हामीलाई अहिले पनि आशङ्का छ ।’

सर्भिस लेन छेउमा किराना पसल चलाउने मदन श्रेष्ठ धुलोको त्यति समस्या नभए पनि जाम भने हुने गरेको बताउनुहुन्छ । अहिले त्यति धेरै जाम नभए पनि पछि अहिले गाडी चलिरहेका सर्भिस लेन पनि बन्द गरेर उहाँको पसल जोडिएको सर्भिस लेनबाटै सबै गाडीहरु गुड्ने भन्ने उहाँले सुन्नुभएको रहेछ । यसकारण झनै जाम हुनेमा उहाँ चिन्तित हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले त त्यस्तो धेरै समस्या छैन । जाम अलिअलि हुने हो । तर, पछि भने उताको अहिले गाडी चलेको बाटो पनि बन्द भएर सबै यतैबाट गाडी चल्छ भनेको छ । त्यो बेलामा भने धेरै नै जाम हुन्छ भन्ने लागेको छ ।’

डिजाइन बनाउँदै कस्तो बनाउने, सामान पाउने नपाउने यकिन नभइ डिजाइनकै कारण लामो समय काम रोकिँदा भने उहाँको आक्रोश छ । उहाँ भन्नुहुन्छ, ‘१४ महिनाको समय भन्ने सुनेको । १० महिना सकिसक्यो । अहिले भर्खर शुरु गर्न लागेको छ । अब कहिले सकिने हो थाहा भएन ।’

फ्लाइओभर बनाउन लागेकै कारण जामका कारण धेरै दुःख पाएको बताउनुहुन्छ ललितपुर टीकाथली बस्ने चालक समिर सेञ्चुरी । उहाँ आफ्नै सानो सामान बोक्ने पिकअप चलाउनुहुन्छ । बसाइ टीकाथली भएका कारण ग्वार्कोको रुटमा उहाँ झनै धेरै आउजाउ हुन्छ । यही रुटमा चिनजान र काम पनि धेरै भएकोले ओहोरदोहोर धेरै हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो फ्लाइओभर बनाउने कुराले ठूलो समस्या भइरहेको छ । बाटो बन्द भएको धेरै भइसक्यो । थुप्रो अगाडि हो भत्काइराखेको । बनाएको जस्तो देखिँदैन । गाडीको एकदमै चाप हुन्छ । सधैँ जाम हुन्छ । यसले हामीलाई एकदमै अप्ठेरो अवस्था छ ।’

उहाँलाई पनि समयमै फ्लाइओभर बन्ने कुरामा आशङ्का छ । उहाँ भन्नुहुन्छ, ‘नियमित काम भएको भए पनि समयमै बन्नेमा विश्वास थिएन । अहिले त डिजाइन परिवर्तन, नेपालको परिस्थिति, यहाँको काम गर्ने तरिका, भनेको समयमा कुनै काम नहुने कारणले चाँडो बन्छ भन्नेमा विश्वास नै छैन ।’

एकाध औँलामा गन्न सकिने आयोजना मात्र समयमा पूरा भएको उदाहरण छ नेपालमा । यसकारण पनि आम नागरिकले ग्वार्कोको फ्लाइओभर समयमै बनि सक्नेमा विश्वास गरेका छैनन् । डिजाइन परिवर्तनका कारण भनेर झण्डै १० महिना काम ठप्प भएपछि अहिले भर्खरै काम शुरु भएको फ्लाइओभर समयमै निर्माण सकिनेमा आआशङ्का हुनु स्वभाविक हो ।

तर, यो फ्लाइओभर ईपीसी अर्थात इन्जिनियर प्रोकरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा बनाउन लागिएकोले समयमै सकिने बताउनुहुन्छ, सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जन । ईपीसी मोडलमा ठेकेदारले आफैँ डिजाइन गर्ने र पूनरावलोकन गर्ने अधिकार हुन्छ । त्यस्तै यसमा म्याद बढाउन तथा पैसा थप्न पनि पाइँदैन । र, भनेको समयमा निर्माण कार्य सकिएन भने हर्जानासमेत तिर्नुपर्ने हुन्छ ।

सडक विभागका अनुसार फ्लाइओभरको रिडिजाइन भदौको १० गते स्वीकृत भएपछि अहिले काम शुरु भएको दुई हप्ता भयो । इन्जिनियर महर्जन भन्नुहुन्छ, ‘पहिला पनि स्वीकृत डिजाइन अनुसारको इक्पिमेन्ट नभएका कारणले काममा ढिलाइ भएको थियो । अहिले रिभाइज्ड डिजाइन एप्रुभ भएर काम शुरु भएको अवस्था छ ।’

अहिले ग्वार्कोमा फ्लइओभरको मुख्य पुल अड्याउने पाइलिङ अर्थात पिलर बनाउने काम भइरहेको छ । त्यो भनेको जमिनभन्दा मुनि ३० मिटर गहिरो पिलर बनाउने त्यसमा ढलान गर्ने काम अहिले भइरहेको छ । 
इन्जिनियर महर्जनका अनुसार एउटा पाइल बनाउन दुई दिन लाग्ने गरेको छ । २४ वटा पाइल बनाउनुपर्नेमा अहिले चार वटा पाइल बनाउने काम सकिएकोले अबको ४० दिनमा त्यहाँ पाइल बनाउने काम सकिन्छ । त्यहाँ ठाउँ नपुग्ने कारणले अर्को उपकरण ल्याएर काम गर्न सक्ने अवस्था छैन । महर्जन भन्नुहुन्छ, ‘अर्को इक्विप्मेन्ट ल्याएर काम गर्ने ठाउँ पनि छैन । अहिले भएको इक्विप्मेन्ट पनि सजिलै चलाउन नपाएको अवस्था छ ।’

अहिले बिहानदेखि राति ११/१२ बजेसम्म काम हुने गरेको छ । तर, अब भने राति ११ देखि बिहानसम्म काम गर्ने योजनामा ठेकेदार रहेको महर्जन बताउनुहुन्छ । अहिलको कामको गति, काम नरोकिएको अवस्था र ठेकेदारको प्रतिबद्धता हेर्दा समयमै निर्माण सकिनेमा आशावादी हुनुहुन्छ महर्जन । त्यसमा पनि ईपीसी मोडलमा समय र पैसा थप्न नपाइने बरु हर्जाना तिर्नुपर्ने भएकोले पनि समयमै काम सकिने बताउनुहुन्छ महर्जन । उहाँ भन्नुहुन्छ, ‘एउटा पाइल दुई दिनमा सक्नु भनेको ठूलो कुरा हो । अरु बाँकी काम पाइल सकिएर गर्छु भनेर कुरिरहनु पर्दैन । र्यामको काम गर्ने योजना छ । ती कामहरु समानान्तर रुपले गर्यो भने समयमै सकिनेमा हामी आशावादी छौँ ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया