आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सकिँदैन

 असोज १३, २०८० शनिबार ८:१७:६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने डाक्टर रोशन कुमार झा काठमाण्डौ बानेश्वरको सडकमा हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालका डाक्टर झा जस्तै अरु थुप्रै डाक्टर बिरामीको उपचार छोडेर सडकमा छन् । डाक्टरमाथि बढ्दो कुटपिटको घटनाको विरोध स्वरुप डाक्टरहरु सडकमा आएका हुन् ।

लामो समयदेखि डाक्टरलगायत अरु स्वास्थ्यकर्मीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ भन्ने माग रहँदै आएकोमा त्यो सम्बोधन नभएपछि बाध्यतावश सडकमा आउनु परेको बताउनुहुन्छ डा झा ।

‘सरकारले दश वर्षपछि अहिले नियम ल्याएको भए पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन त्यसकारण जोडदारपूर्वक यो नियम कार्यान्वय होस् भनेर आन्दोलन गर्नु परेको हो,’ डा झा भन्नुहुन्छ ।

अहिले डाक्टरहरुको काम बिरामी जाँच्ने नभएर बिहान ११ बजेसम्म माइतीघर मण्डलामा आइपुगिसक्ने र त्यसपछि नारा जुलुश गर्दै बानेश्वरमा गएर धर्ना गर्ने बनेको छ । करिब तीन बजेसम्म बानेश्वरमा धर्ना दिएपछि त्यस दिनको कार्यक्रम सकिन्छ । अनि भोलिको कार्यक्रमको तयारीको छलफलमा बित्ने गरेको छ डाक्टरहरुको समय अहिले ।

बिरामीको जिन्दगी बचाउनुपर्ने डाक्टर यसरी सडकमा आएर हुन्छ त भन्दा डा झाको उत्तर छ, ‘पहिले त आफ्नो जिन्दगी नै सुरक्षित हुनुपर्यो । सुरक्षित वातावरणमा काम गर्न पाउनु पर्यो । काम गर्ने वातावरण नै सुरक्षित छैन भने कसरी काम गर्न सकिन्छ ।’

विभिन्न अस्पतालमा उपचारमा डाक्टरहरुको लापरबाहीका कारण ज्यान गएको आरोपमा डाक्टरमाथि कुटपिट हुन थालेपछि डाक्टरहरुले माइतीघरमा आएर आन्दोलन शुरु गरेको पाँच दिन भयो ।

असोज ३ गतेदेखि नेपाल शिक्षक सङ्घको नेतृत्वमा शिक्षकहरु काठमाण्डौको माइतीघरमा आएर आन्दोलन थालेका थिए । असोज ५ गते उनीहरुसँग सहमति भए पनि राहत तथा बालविकास शिक्षहरुले आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका थिए । हिजो उनीहरुसँग पनि सहमति भएको छ ।

अहिले पनि माइतीघरमा जनकपुरको आरती शाहको कुटपिटपछि हत्या भएको भन्दै न्यायको लागि शाहको बुबाआमा धर्नामा हुनुहुन्छ । गोरखाका तेलबहादुर घले सडक बनाउने क्रममा सेनाले आफ्नो गेष्ट हाउस क्षति पुर्याएकोले त्यसको क्षतिपूर्तिको लागि भनेर धर्नामा हुनुहुन्छ ।

२०४७ को संविधान कार्यान्वयन गर्नुपर्यो भनेर बसेको अर्को समूह छ । 

यी सबै अवस्था हेर्दा डाक्टर झा देश नै एउटा आन्दोलनतर्फ अगाडि बढिरहेको हो कि भन्ने लाग्छ भन्नुहुन्छ । हरेक क्षेत्रमा अव्यस्था र विकृति बढ्दै गएपछि काम गरी खाने वातावरण नभएका कारण सबै सडकमा आउन बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको देशको अवस्था हेर्दा मलाई लाग्छ सम्पूर्ण नागरिकले नै आन्दोलन गर्ने अवस्था आइसकेको छ ।’

अरु थुप्रै विकृति र अव्यवस्था भए पनि अहिले आफूहरुको माग काम गर्ने सुरक्षित वातावरण बनाउ भन्ने मात्र रहेको डा झा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीलाई कुटपिट हुनुभएन । कुटपिट भएबापत त्यसलाई कडाभन्दा कडा सजाय कारबाही हुनुपर्यो । स्वास्थ्य मन्त्रालयले आफ्नो काम गर्न सकेको छैन । गृहले सुरक्षा दिन सकेको छैन । प्रहरीको अगाडि हामीले कुटाइ खाइरहेका छौँ ।’

अन्य ठाउँका डाक्टरले पिटाइ खाएको देख्दा भोलि मेरो पालो हो कि भन्ने भयको वातावरण रहेको डा. झा को भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘प्रहरी हुँदाहुँदै प्रहरीकै अगाडि हामीले कुटाइ खाइरहेका छौँ । देशका विभिन्न ठाउँको डाक्टरको अवस्था हेर्दा भोलि कुटाइ खाने मेरो पालो हो कि भने झैँ लाग्छ । यस्तो अवस्थामा हामीले कसरी काम गर्ने । यसकारण यस्तो अवस्थामा काम गर्न नसकेर हामी सबै डाक्टर आन्दोलनमा आएका हौँ ।’

अर्थोपेडिक सर्जन डा. अमित जोशी आन्दोलनलाई मौन समर्थन जनाइ रहे पनि कन्सल्टेन्ट लेभलका डाक्टरहरुको कम उपस्थिति रहेका कारण उनीहरुको प्रतिनिधित्व गर्दै आफू आन्दोलनमा उपस्थित हुनुपरेको बताउनुहुन्छ । काम गर्ने ठाउँ नै असुरक्षित रहेपछि कसरी काम गर्ने भनेर डाक्टरहरुको आन्दोलनमा समर्थन जनाउन उपस्थित हुनुपरेको उहाँको भनाइ छ । 

डाक्टरहरुको आन्दोलनमा सहभागी वीर अस्पताल आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा शेषराज घिमिरे पाँच दिनदेखि डाक्टरहरु आन्दोलनमा उत्रिँदा पनि सरकारले सुनुवाइ नगरेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुहुन्छ ।

यस्ता छन् डाक्टरका माग

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले गरेको डाक्टरहरुको आन्दोलनले ‘जेल विदाउट बेल’ अर्थात् डाक्टर कुट्नेलाई धरौटीमा नछोडी जेल हाल्नुपर्ने माग गरेको छ ।

त्यस्तै, स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित) मा व्यवस्था भएको दफा १५ को कसुर र सजाय सम्बन्धमा भएको व्यवस्थामा संशोधन गरी न्यूनतम सजाय तीन वर्षभन्दा बढी र तीन लाख रुपैयाँ जरिबानाको व्यस्था गर्नुपर्ने माग गरेको छ । 

स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्य संस्थामा सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने । डाक्टरमाथि कुटपिट गर्नेलाई सार्वजनिक मुद्दा चलाउनुपर्ने । अस्पतालमा स्वास्थ्य सुरक्षा बलको तत्काल व्यवस्था गर्नुपर्ने । स्वास्थ्य संस्था सुरक्षित कार्यस्थल अन्तर्गत अस्पताल प्रमुख, सम्बन्धित ठाउँको प्रहरी प्रमुख, उपभोक्ता प्रतिनिधि र कानुनी अधिकारी रहेको समन्वय समिति गठन गर्न पनि आन्दोलतरत डाक्टरहरुले माग गरेका छन् ।

असोज ८ गते पोखराको मणिपालमा अस्पतालमा उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिरामीका आफन्तले डाक्टर अनिल शाहलाई कुटपिट गरेपछि डाक्टरहरुले कार्यस्थलमा सुरक्षाको माग राख्दै आन्दोलन गरेका हुन् । सुरक्षा दिन आएका प्रहरीले उल्टै डाक्टरमाथि हातपात गरेपछि डाक्टरहरु झन् आक्रोशित भएका थिए ।

त्यसैदिन लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीलाई बेसीसहर नगरपालिका –७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए । 

त्यसअघि भदौ २७ गते हेटौँडाको सञ्चो अस्पतालमा उपचारका क्रममा बिरामीको ज्यान गएपछि उपचारमा संलग्न डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट बिरामीका आफन्तले कुटपिट गरेका थिए। गृह मन्त्रालयले डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया