इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन दुई सय जनाभन्दा धेरैको रजिष्ट्रेशन

 असोज २३, २०८० मंगलबार ७:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सुरिक्षत ठाउँमा छन् । युद्धका कारण भयभित भएका उनीहरुलाई संयमता अपनाउन पनि लम्सालको आग्रह छ । स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालिसकेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म दुई सयभन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका छन् ।

नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।

इजरायलमा प्रविधिको पहुँच रहेकाले अनलाइन रजिष्ट्रेशन गर्न नेपालीलाई समस्या नहुने पनि मन्त्रालयको भनाइ छ । रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।

यस्तै, दूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको जनाएको छ । यस्तै, ज्यान गुमाएका १० जना विद्यार्थीकोे शव नेपाल ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको पनि जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया