तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह

 असोज २४, २०८० बुधबार ८:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेका छन् । आफूहरुलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको भन्दै उनीहरुले तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

आफूहरु सुरक्षित ठाउँमा रहे पनि मानसिक र शारीरिक रुपमा कठिन अवस्थामा रहेकाले उद्धारमा ढिलाइ नगर्न उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले भने स्वदेश आउन इच्छुकहरुलाई सबै विकल्प खुला राखेर छलफललाई अगाडि बढाएको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । त्यहाँको विदेश मन्त्रालयले पनि नेपालीलाई स्वदेश फर्काउन पूर्णरुपमा समन्वय गर्ने प्रतिक्रिया दिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने विषयमा सरकार आफैँ अलमलमा छ । इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो ।

यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ ।

यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

दूतावासले संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ । 

भिडियाे : लाेयुष रिजालकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया