इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह

 असोज २४, २०८० बुधबार ११:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् ।

उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया