इजरायलबाट नेपाली लिएर उड्यो जहाज, आजै राती काठमाण्डौ आइपुग्ने

 असोज २५, २०८० बिहिबार १७:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाण्डाैका लागि उडेको छ ।

द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती  काठमाण्डौ आइपुग्ने छ । जहाजमा २५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज यूएईमा तेल भर्नका लागि केही समय रोकिने छ ।

हमासको आक्रमणबाट बचेका नेपाली  विद्यार्थीहरूले आफूहरूको जीवन दान दिएर स्वदेश पठाएको इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।

तर आफूहरू फर्किए पनि आक्रमणमा परी घाइते भएका केही साथीहरू अहिले उपचाररत रहेको र एक जना हराइरहेकाले घाइतेको उपचार र हराएको साथीको खोजी गरिदिन उनीहरूले अनुरोध गरेका छन् ।

इजरायलबाट घर फर्कन नाम टिपाएका मध्ये झण्डै आधा नेपाली मात्रै आज फर्किन लागेका हुन् ।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरीसमेत रहेका छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते हुनुभएको छ । उहाँ उपचारकै क्रममा हुनुहुन्छ । 

यस्तै आक्रमणमा परि घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् ।

१७ जनाको समूहमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ ।  इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायलले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया