‘मलेसिया र खाडीका देशमा काम गरेर फर्किएका श्रमिकमा मिर्गौलाको समस्या धेरै’

 असोज २५, २०८० बिहिबार १६:४४:४६ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ ।

बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो ।

अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक र नेपालमै रहेका नागरिकबीच तुलना गरेर गरिएको अध्ययनले यस्तो देखाएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा. निर्मल अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना(सबै पुरुष) र नेपालमै रहेका सात सय २० जनाबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्त्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा विदेशबाट फर्किएकामा ५ दशमलव ८ प्रतिशत र विदेश नगएकाहरूमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा. अर्यालले बताउनुभयो ।

‘विदेश नगएका पुरुष र महिलाभन्दा विदेशबाट फर्किएकामा बढी समस्या देखिएको छ, त्यसैगरी रगतमा क्रियटिनिनको औसत पनि विदेशबाट फर्किएकामा बढी देखिएको छ, यो परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्त्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ, यसले पनि विदेशमा काम गरेर फर्किएका श्रमिकमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ’ डा. अर्यालले भन्नुभयो । 

यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने विदेशबाट फर्किएका श्रमिकमाभन्दा विदेश नगएकाहरूमा बढी देखिएको छ । 

डा. ‍अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्नेहरुमासमेत यो समस्या धेरै पाइएको छ ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो । अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख डा. श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी झण्डै ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया