इजरायलबाट स्वदेश आइपुग्दा खुशी भए नेपाली

 असोज २६, २०८० शुक्रबार ६:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरेर काठमाण्डौ ल्याएको छ।

बिहीवार बिहानपख काठमाण्डाै आइपुगेका उनीहरु निकै खुसी देखिन्थे । विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट हुनेबित्तिकै उनीहरुले खुशीको आँसु लुकाउन सकेनन्। उनीहरुले आफूहरु भाग्यवश बाँचेको बताए । 

उनीहरुलाई नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए  ।

उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । 

'इजरायलको तेल अभिभमा रहेकाे नेपाली राजदूतावासले सुरक्षित ठाउँमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत् आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५ सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । यसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना स्वदेश फर्किएका छन्' उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिनुभयो । यस घटनामा परि चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका,  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिनुभयो ।

'आक्रमणमा परि  सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ', उहाँले भन्नुभयो, 'यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।'

इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

तेल अभिभबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उहाँको भनाइ छ।

तस्बिर : सुजन दाहालको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया