विमानस्थलमा हर्षका आँसु, बाँकी नेपालीलाई पनि छिट्टै ल्याइने

 असोज २६, २०८० शुक्रबार ९:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो ।  

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरुले त्यहाँको कहालीलाग्दो क्षण अझै बिर्सिएका छैनन् । आफूहरु भाग्यले बाँचेको उनीहरुले बताए । स्वदेश फर्कनेमध्ये एक विद्यार्थी शोभा पासवानले भन्नुभयो, ‘बम र बङ्करबाट फुत्कन पाएको र आफ्नै देशमा भित्रिएकोमा खुसी लागेको छ, तर गुमाएका साथीको याद सधैँभरी हुनेभयो ।’

पहिलो चरणमा नेपाल फर्किएकाहरुमध्ये त्रिभुवन विश्वविद्यालयका ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना गरी एक सय ३२ जना विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मरराज जोशीले आफ्नो विश्वविद्यालयबाट इजरायल गएकामध्ये एक जना घाइतेसहित ३५ जना विद्यार्थी फर्किएको जानकारी दिनुभयो । इजरायलमा १० जना विद्यार्थी गुमाउनु परेको र एक जना सम्पर्कविहीन भएको घटनाले ठूलो आघात पुगेको भए पनि अन्य विद्यार्थीको सकुशल उद्धार भएकोमा निक्कै खुसी लागेको जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई ठूलो आघात भएको छ । १० जना विद्यार्थी हताहत भए । अझै एक जना सम्पर्कविहीन छन् । एक जना घाइतेसहित ३५ जना विद्यार्थीलाई सकुशल ल्याउने काम भएकोमा जुन सरकारले तदारुकताका साथ उद्धार गर्यो त्यो प्रशंसनीय नै छ ।’

आफ्नो नगरपालिकाका विद्यार्थीलाई लिन कञ्चपुरको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा पनि बिहानै विमानस्थल पुग्नुभएको थियो । इजरायलबाट विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उहाँ आगमन कक्षमा पर्खिरहनुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालय टीकापुरबाट इजरायल पुगेका आफ्नो पालिकाका तीन जना विद्यार्थीसहितको टोलीलाई उहाँले स्वागत गर्नुभयो ।

उहाँले भन्नुभयो ‘म १९ गते काठमाण्डौ आइपुगेको थिएँ, अर्को दिन फर्कने तयारी थियो तर आफ्नै पालिकाका विद्यार्थी भाइहरू पनि इजरायल घटनामा परेका छन् भन्ने सुनेपछि कञ्चनपुर फर्किने योजनालाई स्थगित गरी काठमाण्डौमा नै बसेको हुँ । आज विमानस्थलमा स्वागत गर्न पाएँ, खुसी छु ।’ कृष्णपुर नगरपालिकाका तीनजनामा पदम धामी, रमेशबहादुर कार्की र नितिन भण्डारी हुन् । 

इजरायल पुगेको एक महिना नबित्दै घटना भएपछि आत्तिएका उनीहरू सरकारको पहलमा आज नेपाल आइपुगेपछि निक्कै हर्षित छन् । उनीहरुलाई आज आफूसँगै राखेर भोलि दिउँसो कञ्चनपुर फर्किने तयारी भइरहेको मेयर ओझाले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय पोष्टग्राजुयट कार्यक्रम संयोजक प्रोफेसर डाक्टर कृष्ण काफ्लेले आफ्नो विश्वविद्यालयका इजरायल गएका ९७ जना विद्यार्थी पनि फर्किएको जानकारी दिनुभयो । राम्रो उद्देश्यले विद्यार्थीलाई त्यसतर्फ पठाए पनि भवितव्य आइलागेको र अबका दिनमा रोजगारी र शिक्षामा देखिएका समस्याहरुको दिगो समाधानका लागि देशमै व्यवस्था मिलाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो घटनाले विद्यार्थी फेरि इजरायल पठाउनेबारे सोच्नुपर्ने र यसबारे विश्वविद्यालयले पनि समिक्षा गर्ने उहाँको भनाइ छ । 

नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट उनीहरुलाई आज बिहान काठमाण्डौ ल्याइएको हो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ हिजो इजरायल जानुभएको थियो । काठमाण्डौ ओर्लिएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताउनुभयो ।

मन्त्री साउदले इजरायलमा रहेका २ सय ६५ जना नेपाली विद्यार्थी र विभिन्न क्षेत्र र पेसामा कार्यरत झण्डै ४ हजार ५ सयमध्ये केही नेपाली द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेको बताउनुभयो । त्यसमध्ये पहिलो चरणमा २ सय ५४ जनालाई नेपाल फर्काउन सफल भएको उहाँको भनाइ छ ।

मन्त्री साउदले ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको, ४ जना घाइते भएकोमा एक जनाको उपचारपछि नेपाल ल्याएको, एक जना अस्पतालबाट डिस्चार्ज भएको र दुई जना अस्पतालमा नै उपचाररत रहेको पनि जानकारी दिनुभयो । 

सम्पर्कविहीन विपीन जोशीको पनि खोजी कार्य भइरहेको र सरकारले आवश्यक समन्वयमा काम गरिरहेको मन्त्री साउदले जानकारी दिनुभयो । नेपाली दूतावासले सुरक्षित ठाउँमा जान र नेपाल फर्कन चाहनेलाई अनलाइनमार्फत् आफ्नो विवरण उपलब्ध गराउन भनेको थियो । त्यसपछि ५ सय ५७ जनाले विवरण उपलब्ध गराएको र ५ सय ३ जनाले नेपाल फर्कन अनुरोध गरेका छन् । बाँकी रहेकालाई पनि छिट्टै नेपाल ल्याउन पहल भइरहेको सरकारले जनाएको छ । 

त्यसैगरी ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको शव नेपाल ल्याउनका लागि इजरायली सरकारसँग समन्वय भइरहेको र शव ल्याउन केही ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै आवश्यक प्रक्रिया पूरा गरी शव हस्तान्तरण गर्न केही समय लाग्ने इजरायली सरकारले जानकारी गराएकाले परिवारजनलाई केही समय धैर्यधारण गर्न पनि मन्त्री साउदले आग्रह गर्नुभएको छ ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया