दशैँ चहलपहल : ‘सेल’ र ‘छुट’ लेखिएको ठाउँमा भिड, अरु व्यापारी फुर्सदिला

 असोज ३०, २०८० मंगलबार १०:५२:४५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

न्युरोड गेटबाट सङ्कटा मन्दिरतर्फ लाग्दा लहरै लुगाजुत्ता लगायतका पसल छन् । त्यहीँको लुगाजुत्ता पसलकी गीता शाही पसलमा मोबाइल खेलाएर बसिरहनु भएको छ । दशैँ मुखैमा आएको समयमा पनि उहाँको पसलमा भने ग्राहक छैनन् । आडैका अरु पसलमा भने फाट्टफुट्ट एक/दुई जना ग्राहक देखिन्छन् ।

दशैँको समय, पायक पर्ने ठाउँ आदिका हिसाबमा यतिखेर त्यस क्षेत्रका पसलमा भिडमभिड हुनुपर्ने हो । तर, शाही भने ग्राहकसँग सामानको मोलमोलाइ गर्नमा नभएर मोबाइल चलाएर बसिरहनु भएको छ । त्यस ठाउँमा आइपुगिने अर्को सानो गल्ली पनि छ जुन सुन्धाराबाट नेपाल वायुसेवा निगमको आडैमा रहेको छ । जहाँ जुनबेला पनि भिड हुन्छ । यसरी हरेक हिसाबबाट यो ठाउँ ग्राहकलाई पायक पर्ने सजिलो ठाउँका रुपमा देखिन्छ । तर, पनि त्यस क्षेत्रका पसलमा ग्राहक देखिँदैनन् ।

‘खोइ यसपटक दशैँमा के भएको हो । पसलमा ग्राहक नै छैनन् । तपाईँले देखिरहनु भएको छ नि । यतिखेर त पहिले पहिले कत्ति भिड हुन्थ्यो । अरु बेलामा पनि एक/दुई जना त यसो आइरहन्थे । खोइ अहिले त सुनसान नै छ,’ शाहीले भन्नुभयो । सामान्यतया दशैँ, तिहार जस्ता ठूला चाडपर्वमा न्युरोड, असन, महाबौद्धलगायतका क्षेत्रमा ठूलो भिड हुने गर्छ ।

ग्राहकहरुको ठूलो सङ्ख्या यी ठाउँमा पुग्ने गर्छन् । जहाँ सस्तोदेखि महँगासम्म सामान पाइन्छ । यसकारण पनि यी क्षेत्र ग्राहकको रोजाइमा पर्ने गरेको छ ।  तर, त्यही क्षेत्रका पसले भने अहिले पनि ग्राहक नभएर फुसर्दिला छन् । न्युरोड रञ्जना गल्लीका तयारी कपडा पसले रञ्जन केसी पनि ग्राहक नआएर साथीहरुसँग गफिँदै बसिरहनु भएको छ ।

‘हाम्रोमा त्यस्तो भिड नै लाग्ने गरी ग्राहक आउने त होइनन् । तर, पनि राम्रै मान्छे आउँथे । अहिले खासै मान्छे आएका छैनन् । एक/दुई दिनमा अलि बढ्लान कि, हेरौँ अब,’ उहाँ भन्नुहुन्छ, ‘हाम्रोमा अलि महँगो पनि छ । राम्रो सामान छ । त्यस्तै सामान खोज्ने मानिसमात्र आउँछन् ।’

केसीले भनेजस्तै अहिले ग्राहकहरु महँगोमा नभएर न्युरोड, खिचापोखरी तथा मखन क्षेत्रका सस्तो र ‘सेल’ लागेका पसलमा भने ग्राहकहरुको भिड छ । खुट्टा हाल्ने ठाउँ नै छैन । यस्ता पसलहरुमा विशेषगरी महिलाका कपडा तथा जुत्ताहरु पाइन्छन् । जुन पाँचसयमा पाइन्छ । यस्ता पसलमा भने थामिनसक्नुकै भिड छ न्युरोडमा । फुटपाथका पसलहरु हटेपछि यस्ता पसलमा ग्राहको अचाक्ली भिड देखिन्छ । यहाँका पसलेलाई भने बोल्ने फुर्सद छैन । यस्तै ‘सेल’ लागेको न्युरोडको न्युरोड मलमा लुगा हेर्दै हुनुहुन्छ कपनकी अस्मिता खरेल ।

उहाँ त्यहाँको ग्राहकको भिड देखाउँदै भन्नुहुन्छ, ‘यहाँ तपाईँ एकछिन बसेर हेर्नुभयो थाहा हुन्छ कति मान्छेले किन्छन् भनेर । धेरै मान्छे सस्तो भनेर हेर्न आएका मात्र हुन् । किन्ने त यहाँ पनि कम नै छन् । म पनि मनै परे किन्ने हो नत्र हेर्ने मात्र हो । मुख्यकुरो मान्छेसँग अहिले पैसै छैन । एकदमै जोखेर, तौलेर खर्चिरहेका छन् ।’

आरबी कम्प्लेक्सका जुत्ता पसले विष्णु आचार्य अहिले दशैँको यो समयमा पनि व्यापार नहुँदा चिन्तित हुनुहुन्छ । झण्डै २० वर्षदेखि जुत्ताको व्यापार गर्दै आउनु भएका आचार्य यही अवस्था आए व्यवसायबाटै हात धुनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यो दशैँ तिहारमा केही व्यापार हुन्छ कि भनेर हामी पर्खेर बसेको हो । तर, अहिलेको अवस्था हेर्दा त त्यो आशा पनि निराशामा परिणत होला जस्तो छ । यही पारा हो भने व्यवसाय नै छोड्नुपर्ने हुनसक्छ ।’

अहिलेको दशैँको समयमा बजारमा भिड भए पनि व्यापार नहुनुमा वा बजार चलायमान नहुनुमा दुई वटा कारण रहेको देख्नुहुन्छ अर्थविद् चन्द्रमणी अधिकारी । उहाँका अनुसार बजार चलायमान हुनका लागि मध्यमवर्गसँग पैसा चाहिन्छ । जुन मध्यमवर्गसँग अहिले पैसा छैन र भएको पैसा पनि सोचेर, विचार गरेर मात्र खर्च गरिरहेको छ । अर्को बजार चलायमान बनाउनका लागि युवाहरु चाहिन्छ । तर, जसको ठूलो हिस्सा अहिले विदेशमा छ । यी दुई कारणले अहिले बजार चलायमान नभएको हो ।

उहाँ भन्नुहुन्छ, ‘मध्यम वर्गसँग अहिले उद्योग, व्यापार, व्यवसायका कारण आय छैन । अलिअलि भएको आम्दानी छोराछोरीलाई बाहिर पठाउनमा खर्च भयो । अलिअलि भएको पनि देश मन्दीमा चलिरहेकोले भोलि भात खान नै नपाइने अवस्था हुन्छ कि भनेर उनीहरु सोचेर खर्च गरिरहेका छन् ।’ उहाँका अनुसार अर्को बजार चलायमान हुन नसक्नुको कारण भनेको देशमा युवाहरु नहुनु हो ।

उहाँ भन्नुहुन्छ, ‘खास वस्तु तथा सेवाको उपभोग गर्ने भनेको युवाले हो । नयाँ फेसन आएपछि घरमा लुगा भए पनि किनिहाल्ने । नयाँ आयो भन्नासाथ किनिहाल्ने । चाहे त्यो लुगाजुत्ता, मोटरसाइकल, गाडी वा जेसुकै होस् । त्यसकारण अहिले ठूलो सङ्ख्यामा युवाहरु नहुनु पनि बजार चलायमान हुन नसक्नुको अर्को कारण हो ।’

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया