दशैँ नेपालीको साझा चाड : ओली

 कात्तिक ३, २०८० शुक्रबार २०:२४:१८ | रासस
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकाङ्क्षा भएको बताउनुभएको छ । 

दशैँ, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा आज शुक्रवार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दशैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दशैँलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दशैँले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गर्नुभयो ।

ओलीले जमरा र अक्षता लगाउने चलनले दशैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दशैँको टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले देश आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकिर गर्नुभयो । उहाँले महँगी आकाशिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाउनुभयो । 

नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धर्मशिला चापागाईंले देशमा नागरिककाे बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दशैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताउनुभयो । 

विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दशैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको याे कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका जिल्लामा रहेका शीर्ष नेता सहभागी हुँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया