देशभरका शक्तिपीठ एवम् देवी मन्दिरमा भक्तजनको भीड

 कात्तिक ५, २०८० आइतबार १७:०:३७ | रासस
unn.prixa.net

महाअष्टमी पर्वका अवसरमा आइतवार बाग्लुङकाे कालिका भगवती मन्दिरमा देखिएको भक्तजनको घुइँचो । तस्बिर:रासस

काठमाण्डाै – दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवम् देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दशैँको आठौँ दिन अर्थात् महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको शुरुवात अर्थात् घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना शुरु हुने भए पनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ । 

सङ्घीय राजधानी काठमाण्डाैका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवम् दर्शनका लागि लाममा बसेका छन् । 

नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरक–फरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् ।

यसैगरी उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । 

दशैँको महत्त्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् । 

दशैँका अवसरमा धेरै मानिस आ–आफ्नो थातथलो फर्केका छन् । कतिले अझै जाने तयारी गरेका छन् । काठमाण्डाै उपत्यकाबाहिर जाने यात्रुले सार्वजनिक गाडी सहज नभएको गुनासो गरेका छन् ।

सार्वजनिक गाडीमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दुःख पाएको काठमाण्डाै उपत्यकाबाट बाहिरिनेको गुनासो छ । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दशैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक गाडी व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको यात्रुले गर्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया