चाडपर्वको बेला गाउँमा नै रमाइलो

 कात्तिक ६, २०८० सोमबार ११:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवनको नारायणी नदी किनारमा पिङ खेल्दै बालबालिका ।

तनहुँ - तनहुँकाे व्यास नगरपालिका–३ का डा विनय शाह दशैँ मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किनुभयो । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जानुभएको हो।

'हामी प्रत्येक वर्षको फूलपातीमा  दशैँ मनाउन गाउँ जान्छौँ, गाउँमा नै दशैँ मनाउन रमाइलो छ,' उहाँले भन्नुभयो, 'टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौँ ।' डा शाहको परिवार दशैँ मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ । 

अन्य ठाउँमा रहेका आफन्तहरु पनि दशैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'दशैँका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौँ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।'

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै जानुभयो । 'दशैँ गाउँमा रमाइलो हुन्छ, दशैँ सकाएर पुनः काममा फर्किन्छु,' उहाँले भन्नुभयो ।

दशैँका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरु दशैँ मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो । 

दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत दशैँ मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ । अन्य समयमा यातायातको चाप रहने यहाँ दशैँंको समयमा निकै कम मात्रामा मात्र गाडी सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन्। 

मुख्य व्यापारिक केन्द्रहरु दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दशैँले प्रभाव पारेको छ । नागरिक दशैँंका लागि किनमेल गरेर दशैँं मनाउन व्यस्त छन् । शुक्रवारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भए पनि शनिवार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताउनुभयो । उहाँले भन्नुभयो, 'शुक्रवारसम्म बजारमा किनमेल गर्ने नागरिकको अत्यधिक घुइँचो थियो, शनिवारदेखि व्यापार व्यवसाय घटेको छ ।'

जिल्लाका ग्रामीण भेगहरुमा भने दशैँंको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र सहरमा रहेका नागरिक गाउँ छिरेपछि ग्रामीण भेगमा दशैँको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् । 

अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताउनुभयो । उहाँले भन्नुभयो, 'वर्षौँसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाइ चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।'

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया