दशैँको टीका लगाउनेक्रम शुरु : मान्यजन र आफन्तकहाँ पुग्नेहरुको चहलपहल

 कात्तिक ७, २०८० मंगलबार ११:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - दशैँको टीका लगाउनेक्रम शुरु भएको छ । यस वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेको छ । धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु उत्तम हुनेछ । त्यसअघि बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गरिएको छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । टीका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुको चहलपहल पनि शुरु भएको छ ।

साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल शुरु भएको हो । दशैँअघि नै लाखौँ मानिस काठमाण्डौ उपत्यकाबाहिर गएकाले अरु बेलाभन्दा केही सुनसान छ । सार्वजनिक गाडी फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् । निजी गाडीमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आउने जानेक्रम चलिरहेको छ ।

देशका कतिपय ठाउँमा आज एक दिनमात्र टीका लगाउने चलन भएकाले टीका लगाएपछि मानिसहरु कर्मथलो फर्कन थाल्छन् । कतिपय ठाउँमा भने कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया