ताप्लेजुङका किसानलाई अलैँची टिप्न चटारो भएपछि  बगानमै मनाए दशैँ

 कात्तिक ८, २०८० बुधबार २०:१३:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – नवदुर्गाको प्रसाद स्वरुप टीका एवम् जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ  विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैँ मनाएका छन् ।

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किनुभएको छैन । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उहाँको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठ जनादेखि १२ जनासम्म खेताला लगाइरहेका उहाँले यस वर्षको दशैँ बगानमा मनाउनुभयो ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बूले पनि अलैँची बगानमै दशैँ मनाउनुभयो । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ शुरु गर्ने चलन छ । उहाँले मङ्गलवार अलैँची बगानमा पूजापाठ गर्नुभयो । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उहाँले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ शुरु गर्नुभएको छ । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उहाँको परिवार दशैँमा घर फर्कन नपाएको हो । ‘टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।’

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दशैँका बेला पनि अलैँची बगानमै बस्नु परेको उहाँले बताउनुभयो । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दशैँ मनाएको लिम्बूले सुनाउनुभयो । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाउनु भएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन  । ठूलो बगानमा अलैँची टिपिरहेका उहाँ तिहारअघि नै काम सकेर फर्कने तयारीमा हुनुहुन्छ ।

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समय अगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउनुहुन्थ्यो । तर अहिले अलैँची टिपाइ शुरु भएसँगै खेतलाका लागि बिहान खाजा बनाउने र खाना बनाउनेमा उहाँको व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएको छ । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खाना खाने समय हुन्छ । आँखाले देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।

यी त भए केही प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो

पहिलेका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, पहिलेका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याइ हुन्छ ।’ गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताउनुभयो ।

केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो हप्तादेखि नै टिप्ने गरिन्छ ।

यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न शुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । यसबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया