दैलेखमा कुटपिटबाट घाइतेको उपचारको क्रममा ज्यान गयो

 कात्तिक १०, २०८० शुक्रबार १७:४७:२६ | अमर सुनार
unn.prixa.net

दैलेख – दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा दैलेखमा एक युवाको ज्यान गएको छ । मंगलवार राति बडादशैँ मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिटको घटनाका घाइते युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार ज्यान गएको हो।

बडादशैँको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइते दुई नारायण नगरपालिका–७ किमुगाउँका रोहन र रोहनका भतिजा २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलवार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा रोहनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताउनुभयो ।

पीडित पक्षले कुटपिटमा संलग्न नारायण नगरपालिका–७ का ८ जना विरुद्ध किटानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूर्णबहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न ४ जना आरोपितहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरीले पक्राउ गरेका र फरार समेतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा शुक्रवार रोहनको ज्यान गएपछि पीडित पक्षले कर्तव्य ज्यान सम्बन्धी पूरक जाहेरी ल्याए अनुसार व्यक्ति हत्या कसूरमा अनुसन्धान शुरु भएको बताइएको छ ।

यसैबीच गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिइ कुटपिट गरिएको घटनाका घाइते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको उपचारको क्रममा शुक्रवार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सुर्खेत–दैलेख सडकको कपासेमा यातायात अवरोध गरेका थिए । तर, सुर्खेत प्रशासनले सम्झाइबुझाइ गरेपछि अवराेध हटेकाे तथा यातायात सञ्चालन भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया