दशैँ सुरक्षा : काठमाण्डाै उपत्यकामा १०३ घटना, दुईको जनाकाे ज्यान गयाे, १ सय १८ जना घाइते

 कात्तिक ११, २०८० शनिबार ११:४१:२ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा यसपालिको दशैँमा तुलनात्मक रुपमा कम घटना भएका छन् । विगतका तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना नभएका काठमाण्डाै उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ । 

फूलपातीयता आजसम्म केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।  

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारेर निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भन्नुभयो, 'सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।'

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटपुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रवार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको ज्यान गएकाे छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिनुभयो ।

यसबीचमा २० वटा गाडी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु ठाेक्किँदा ५१ वटा दुर्घटना भएको थियो । याे दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एक जनाको ज्यान गएकाे थियाे । 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ वटा घटनामा एक जनाकाे ज्यान गएकाे छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

जुवातासको खालबाट काठमाण्डाैबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कुल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पाँच लाख रुपैयाँ नगद बरामद गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया