दशैँ बिदामा सौराहाका होटल भरिभराउ

 कात्तिक ११, २०८० शनिबार २०:९:८ | रासस
unn.prixa.net

चितवन – दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैँअघि सुनसान रहेका होटल दशैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँ शुरु भएपछि धेरैजसो होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड शुरु भएसँगै पुनः तङ्ग्रिन थालेको बताउनुभयो । ‘दशैँअघि सौराहा सुनसान जस्तै थियो’, उहाँले भन्नुभयो, ‘पर्यटकीय सिजन शुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।’ देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दशैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताउनुभयो । उहाँले दशैँपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिनुभयो ।

आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनः पुरानै लयमा फर्काउने राम्रो सङ्केत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गाना बताउनुहुन्छ । उहाँले दशैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो । 

दशैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ । शुक्रवार साँझ सौराहामा थामिनसक्नु भीड थियो । सौराहाको ड्यामसाइटका रेस्टुरेन्ट तथा होटल भरिभराउ थिए । होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो । 

उहाँले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साह थपेको बताउनुभयो । उहाँका अनुसार रसिया, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन् ।

पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । दशैँका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ । आन्तरिक पर्यटक मिता आचार्यले दशैँ बिदाको समय पारेर सौराहा घुम्न आएको बताउनुभयो । 

उहाँले सौराहामा रहँदा निकुञ्जमा जीप सफारी र राप्ती नदीमा ढुङ्गा सयर गरेको बताउनुभयो । पर्यटकीय सिजन शुरु भएसँगै आन्तरिक पर्यटक मात्र होइन अहिले विदेशी पर्यटक पनि सौराहामा देखिन थालेका छन् । उनीहरू सौराहा र चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न पाउँदा खुशी छन् । अमेरिकाबाट घुम्न आउनुभएका पर्यटक एन्जेला भन्नुहुन्छ, ‘चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरुङ्गीले मन लोभ्यायो । यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भयो ।’

पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाका पर्यटनमा स्तरीय होटलको अभाव खड्किदै गइरहेको छ । त्यही अभावलाई पूर्ति गर्न विदेशी पर्यटकलाई लक्षित गर्दै सिद्धार्थ भिलासा वनबासजस्ता रिसोर्ट पनि खुलेका छन् भन्ने अन्य खुल्ने तयारीमा छन् । सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल रहेका छन् भने ५० भन्दा बढी रेस्टुरेन्ट रहेका छन् । 

सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै डुङ्गा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गएको वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी झन्डै तीन लाख पर्यटकले भ्रमण गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया