कारागार र हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाहरुको भाइटीका

 कात्तिक ३०, २०८० बिहिबार ८:४४:२६ | अमर सुनार
unn.prixa.net

दैलेख – खोटाङ्गको जिल्ला सदरमुकाम दिक्तेल नगरपापालिका–११ खार्मीकी रुपा राई दैलेख कारागारका कैदी राजु नेपालीलाई भाइटीका लगाउन कारागारमै पुग्नुभयो । नारायण नगरपालिका–१ रातामाटेका राजु कर्तव्यज्यान मुद्दामा २० वर्षे कैदमा ७ वर्ष भोगिरहेका कारण भाइटीका लगाउन उहाँ त्यहाँ पुग्नुभएको हो ।

त्यस्तै दुल्लू नगरपालिका–९ पादुकाका तेजबहादुर रोकाय बलात्कार मुद्दाको पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । उहाँकी दिदी तारा भण्डारी बहिनी माया भण्डारी पनि भाइटीका लगाउन पादुकाबाट बिहान कारागारमा आउनुभयो ।

अर्का कैदी नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका हरिबहादुर विक पनि बलात्कार मुद्दामा १८ वर्ष कैदको चार वर्षदेखि भुक्तान गरिरहनुभएको छ । हरिबहादुरका काकाका छोरीहरु अस्मिता विक र बिष्णा विकले पनि कारागारमै पुगेर भाइटीका गनुभयो । दुल्लू नगरपालिका–२ नाउलकटुवालका खगेन्द्रबहादुर थापा पनि दुई वर्षदेखि बलात्कार मुद्दाको ७ वर्षे कैदको क्रममा दैलेख कारागारमै हुनुहुन्छ । उहाँका विवाहिता दुई दिदीबहिनीहरु रुपकला खड्का र सिर्जना खड्काले पनि त्यहीँ भाइटीका लगाइदिनुभयो ।

दैलेखका कारागारमा अहिले १२ जना महिला कैदीबन्दी राखिएको छ । महिला कैदीबन्दी महाबु गाउँपालिका–१ खरिगैराकी कल्पना नेपालीसँग उहाँकी दुइटी नन्दहरु पुतली र पातली विकले भाउजुको हातको टीका थाप्नुभयो । दाजु पदम नेपाली भारत प्रवासमा भएको कारण दाजुको साटो भाउजु कल्पनासँग भाइटीका लगाएको उहाँले बताउनुभयो । कर्तव्यज्यान मुद्दाको २० वर्षे कैदमा कल्पनाले पाँच वर्ष कैद भुक्तान गरिसक्नु भएको छ ।

त्यस्तै कर्तव्यज्यान मुद्दाकै २० वर्षे कैदमा साढे दुई वर्ष कैद भुक्तान गरिसक्नु भएकी गुराँस गाउँपालिका–२ खड्कवाडाकी हरिकला रावलका दाजुहरुले कारागारमै पुगेर भाइटीका थाप्नुभयो । टीका थाप्न कलश र फूलपत्रले सजाइएको कारागारमा पुरुष र महिला कैदीबन्दीहरुको बसाइ अलग–अलग भए जस्तै टीका थाप्ने ठाउँको कलश, फूलपत्र पनि अलग अलग थियो । 

दाजुभाइलाई दिदीबहिनीले लिएको र दिदीबहिनीहरुका लागि घरबाट दाजुभाइले लिएर गएको खानेकुरा चेकजाँच प्रक्रिया पूरा गरेपछि सँगै बसेर खानपिन गरेको दृश्य बडो भावुक देखिन्थ्यो । 

दैलेख कारागारमा जस्तै जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि हिरासतमा रहेका थुनुवाहरुका लागि भाइटीका लगाउन चटाई कम्बल बिच्छ्याएको आसन, कलश, दियो बालिएको थियो । दिदीबहिनीहरुले ल्याएको खानेकुरा र प्रसादीहरु त्यहाँ राखेर घरमै जस्तै गरी टिका लगाइ दिने व्यवस्था गरिएको थियो ।

दिदीबहिनी तथा दाजुभाइहरु पनि कारागारमा नै भए पनि टीका लगाएर तिहार मनाउन पाएकोमा हाँसीखुशी नै देखिन्थे । तर प्रहरी हिरासतमा भाइटीका लगाइदिने दिदीबहिनीहरु टीका लगाइदिँदा, माला पहिर्‍याउँदा, भाइपूजाका प्रसादी दिँदादेखि दाजुभाइबाट उपहार लिँदा भने रोइरहेका देखिन्थे ।

कारागारमा लामो समय बिताइसकेको कैदीबन्दीलाई सामान्य भए पनि फौजदारी मुद्दामा दाजुभाइ थुनिएका ताजा घटना भएकोले उनीहरुले बढी पीडा बोध गरेको हुनुपर्ने अधिकारकर्मी हीरासिंह थापाले टिप्पणी गर्नुभयो ।

काराबासमा जीवन बिताइरहेकाहरुलाई पारिवारिक सम्पर्क र सम्बन्ध बनाउनुको साथै धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुले कैदीबन्दीहरुमा सकारात्मक भावना विकास हुने भएकोले यस्ता पर्वहरुमा कारागार प्रशासनले भाइटीकाको प्रबन्ध गरिदिएको जेलर जीतबहादुर खत्रीले बताउनुभयो । यस पटक ५७ जना कैदीबन्दीका ९१ जना दाजुभाइ तथा दिदीबहिनीहरुले टीका लगाएको उहाँले जानकारी दिनुभयो ।

कारागारमा मात्र होइन फौजदारी मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा भएका ११ पुरुष र दुई महिला गरी १३ जनाका दाजुभाइ तथा दिदीबहिनीहरुले भाइटीका लगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

प्रहरी हिरासत र कारागारमा रहेका बन्दीहरुलाई सामाजिक भावना विकास गराउन, आफ्नो आपराधिक कर्मको पश्चाताप र पारिवारिक सम्बन्धको सामीप्यता राख्न सहयोग गर्नका लागि चाडपर्वहरुमा भेटघाटलाई बढावा दिइएको उहाँले बताउनुभयो ।

आफन्त नआएकाहरुले चाहिँ टेलिफोन गरेर घरमा भएको तिहारको चहलपहल बारेमा भलाकुसारी गरेको देखिन्थ्यो । बहुविवाहको मुद्दामा अदालतले तोकेको एक लाख धरौटी तिर्न नसकेर काराबास बस्नु परेकी खजुरा सुजीका दाजु तिलक भाइटीका लगाउन नआउँदा आँखा रसाएका थिए ।

निश्चित सुरक्षा चेकजाँच गरी घरमा पाकेको खानेकुराहरु खान पाउने प्रबन्ध गरिएको कुरालाई कैदीबन्दीहरुले घरका परिवारसँग बसेर खाएको जस्तो महसुस भएको दैलेख प्रहरीको हिरासतमा रहेका विजयकुमार बस्नेतले सुनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया