राउटे समुदायको माग– ‘माघीअघि भत्ता चाहियो’

 पुस १९, २०८० बिहिबार २०:२६:४१ | अमर सुनार
unn.prixa.net

दैलेख – राउटे समुदायले माघी पर्वअघि सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग राखेका छन् । न्यानो कपडा र दैनिक प्रयोगका सामग्री वितरण गर्न राउटे बस्ती पुग्नुभएका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग उनीहरूले यस्ताे माग राखेका हुन् ।

मुख्य चाड माघीअघि नै सामाजिक सुरक्षा भत्ता पठाइदिन राउटे युवती गाजली शाहीले प्रमुख जिल्ला अधिकारी भुसालसँग भन्नुभयाे । जवाफमा भुसालले माघीअघि नै भत्ता पठाउनेबारे आफूले पहल गरिसकेको बताउनुभयाे ।

हरेक दुई/तीन महिनामा बस्ती सार्दै हिँड्ने क्रममा राउटे समुदाय दुई दिन अघिमात्र दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा आइपुगेकाे छ । राउटे समुदायका ४१ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले एउटा त्रिपाल, कम्बल, सिरक, टर्च, रुमाल, बाल्टी, जगसहितका सामग्री दिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भुसाल, नेपाली सेनाको कालीदत्त गुल्मका सेनानी दीपेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल, सशस्त्र प्रहरीका डीएसपीसमेतको टोलीले बस्तीमै पुगेर सहायता सामग्री दिएको हो ।

फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले उनीहरूलाई नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकामार्फत पठाउने गर्दछ ।

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइ–लेखाइमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसँगै बस्दै–सर्दै हिँड्ने गरी परियोजनामा दुई महिलासहित जना कर्मचारी परिचालन गरिएको छ ।

पहिले काठपात, जडीबुटीको भरमा उपचार गर्ने राउटे समुदाय परियोजना र सहजकर्ताहरूको लामो प्रयासपछि उनीहरू सामान्य बिरामी पर्दा वा चोट पटक लाग्दा परियोजनामा कार्यरत स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्ने गरेका छन् ।

परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायकाे बस्तीमै पुगेर एक सय ४९ जना सबैलाई फोटोसहितको परिचयपत्र दिएको थियो । त्यस बेलादेखि गाउँपालिकाले राउटे समुदाय बस्तै–सर्दै जहाँ गए पनि त्यहीँ पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

त्यति बेला परिचयपत्र लिँदा राउटे महामुखिया महिनबहादुर शाहीले ‘अहिले परिचयपत्र त लिन्छौँ, पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी सर्त राख्नुभएको थियो । राउटे समुदायमा पढाइलेखाइ, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने पुरातन विश्वास रहेकाे छ ।

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायीरूपमा बस्दै आएको छ । डडेल्धुरामा बालबालिका विद्यालय अनि वयस्कहरू मजदुरी गर्नेजस्ता सामान्य जनजीवनमा फर्किएकाे अवस्थामा उनीहरूलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया वीरबहादुर शाहीको तर्क छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया