सहकारी घोटालामा रवि लामिछानेको संलग्नता देखिएको छैन, कांग्रेसले राजनीतिकरण नगरोस् : प्रधानमन्त्री

 चैत ६, २०८० मंगलबार १३:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन जरुरी नरहेको बताउनुभएको छ । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले आज प्रतिनिधि सभाकाे बैठकमा जवाफ मागेपछि प्रचण्डले जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति  लगायत कतै पनि नरहेको र अदालतमा दर्ता भएको मुद्दामा पनि उहाँ कतै संलग्न नदेखिएको बताउनुभयो । शुरुमा सूर्यदर्शन सहकारीका एक हजार जना पीडितले दिएको उजुरीमा लामिछानेको नाम नरहेको तर मूल उजुरी परेको छ महिनापछि कास्कीमा पूरक उजुरी परेको र त्यहाँ कुनै पनि प्रमाण र आधार उल्लेख नरहेको प्रचण्डले जवाफ दिनुभयो । यो सरकार गठन हुनुअघि नै रवि लामिछानेको नाममा प्रवाह भएको ऋण फर्स्याेट भइसकेकाले अनुसन्धान गर्न नपर्ने प्रहरीले बताएको प्रधानमन्त्रीको दाबी छ ।

लामिछाने मन्त्री बनेपछि यो विषयलाई उचालेर संसद्का काम कारबाही प्रभावित गर्नु कति उचित हो भनेर नेपाली कांग्रेसले नै ख्याल गर्नुपर्ने विषय भएको प्रधानमन्त्रीको भनाइ छ । अनुसन्धानबाट कुनै कैफियत देखिएमा लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने प्रचण्डले बताउनुभयो । ठाडो उजुरीकै आधारमा राजीनामा माग्ने र दिने कुरा उचित नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले यो विषयलाई राजनीतिकरण नगर्न पनि कांग्रेससँग आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया