मौलिकता जोगाउँदै गोरखाको चुम नुब्रीको पुनर्निमाणमा जुट्दै साेनाम

 मंसिर २४, २०७५ सोमबार १९:४७:२४ | उज्यालो सहकर्मी

काठमाडौं – भूकम्पको केन्द्रबिन्दु गोरखा । भूकम्पले थिलथिलो भएको गोरखा अहिले पनि उठ्ने क्रममै छ ।

उत्तरी गोरखाको चुम नुब्री उपत्यकालगायतका कतिपय ठाउँमा त पुनर्निमाणको काम सुरु नै भएको छैन । कतिपय ठाउँमा स्थानीयकै पहलमै पुनर्निमाणका काम भएका छन् । सरकारी स्तरबाट पुनर्निमाणका लागि पहल भए पनि स्थानीयपन र सरकारी मापदण्ड नमिल्दा काम अघि बढ्न सकेको छैन । 

हिमाली गाउँ चुम नुब्रीको मौलिकतालाई जोगाएर पुनर्निमाणको काम अघि बढाउन सरकारले खासै चासो देखाएको छैन । 

हिमाली भेगको मौलिकतालाई संरक्षण र सम्वद्र्धन गर्दै गोरखाको चुम नुब्रीको पुनर्निमाणमा लागेका छन् आर्किटेक्ट सोनाम लामा । प्राथमिक शिक्षा गाउँमै पूरा गरेर गोरखा सदरमुकामबाट माध्यमिक शिक्षा पूरा गर्दै काठमाडौंमा आर्किटेक पढेका सोनाम उच्च शिक्षाका लागि जर्मनी र स्पेन पनि पुगे ।  तर उनलाई आफ्नै गाउँठाउँको मायाले स्वदेश फर्कायो ।

२०७२ सालको महाभूकम्प जाँदा उनी काठमाडौंमा थिए । भूकम्पले गाउँ तहसनहस भएपछि उनी फर्किए । चुम नुब्री ऐतिहासिक तथा धार्मिक ठाउँ भएकाले पनि धेरै पुरातात्विक सम्पदाहरु भत्किएका थिए । त्यसैले आफूले जानेको कुरा र गाउँको रैथाने ज्ञान मिसाएर उनी पुनर्निमाणमा जुटे । 

शुक्रबारदेखि सुरु भएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव(किम्फ) अन्तर्गत आज सोमबार चौथो दिन ‘पोस्ट अर्थक्वेक’ (रिबिल्डिङ इन द हिमालय) वृत्तचित्र प्रदर्शन भयो । प्रदीप पोख्रेल र सोनाम लामा आफैले संयुक्त रुपमा निर्देशन गरेको यो वृत्तचित्रमा चुम नुब्रीमा भएका पुनर्निमाणका कामहरु देखाइएका छन् । 

स्थानीय सामग्री र सीप प्रयोग गरेरै चुम नुब्रीमा विद्यालय भवन र स्वास्थ्य चौकीको भवन बनाइएको छ । स्थानीय स्तरमै उपलब्ध ढुंगा, काठ र निगालो बाँस प्रयोग गरेर बनाइएका भवन आकर्षक र कलात्मक मात्रै छैनन्, भूकम्प प्रतिरोधी पनि छन् । 

बिहीमा रहेको गुम्बा हिमाली प्राथमिक विद्यालयमा भूइँदेखि डेढ फीटसम्म ढुङ्गे गारो लगाएर त्यसमाथि ३ वटा कक्षाकोठाको भवन काठले निर्माण गरिएको छ । जसले गर्दा भवनमा भएको काठबाट निर्मित सामग्रीहरूलाई भूइँबाट आउने चिसोबाट जोगाउनेछ । बालबालिकाहरूको लागि हलुका काठबाट निर्मित भवन न्यानो, चिटिक्क, घरजस्तो अनुभव हुने मात्र नभै पछि आउन सक्ने भूकम्पहरूबाट पनि पूर्ण सुरक्षित हुने सोनाम बताउनुहुन्छ ।

एउटा कक्षाकोठाबाट अर्को कोठामा आवाज नजाओस् भनेर दुईवटा काठको फ्ल्याकको बीचमा काठकै धुलो प्रयोग गरिएको सोनामले बताउनुभयो । 

स्थानीय स्तरका सामग्री प्रयोग गरेर पुनर्निमाण गर्दा मौलिकता मात्रै जोगिने होइन, त्यसबाट स्थानीय सीप र श्रमको समेत प्रयोग हुने उहाँ बताउनुहुन्छ । 

चुम नुब्रीमा सोनामले गरेको प्रयोगलाई देशका अन्य भूभागमा पनि प्रयोगमा ल्याउन सकेमा पुनर्निमाणको काम छिटो हुने मात्र होइन, मौलिक संस्कृति र संरक्षण र सम्वर्द्धनमा समेत सहयोग पुग्नेछ । 

सोमबार नै वैदेशिक रोजगारी गएर ज्यान गुमाएपछि परिवारमा आइपर्ने झैझमेला समेटिएको चलचित्र ‘तटिनी’ प्रदर्शित भएको थियो । अविनाशविक्रम शाहले निर्देशन गरेको यो चलचित्रमा वैदेशिक रोजगारीमा गएका एक नेपाली युवकको ज्यान गएपछि उनको परिवारमा आएको संकट प्रस्तुत गरिएको छ । कम्पनीबाट पाएको क्षतिपूर्तिको पैसाकै कारण परिवारमा देखिने समस्यालाई चलचित्रले प्रस्तुत गरेको छ । 

सोमबार नै ‘द ग्रेट मुखिया’, ‘फोर आवर्स’, ‘रिभर क्रसिङ’ लगायतका वृत्तचित्र देखाइएको थियो । 

शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबारसम्म चल्नेछ । 


तस्बिर - साेनाम लामाको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया