एउटा ब्रसले बदलेको अजयको जीवनको क्यानभास !

 पुस २८, २०७५ शनिबार १३:२०:१३ | दीपा तिमल्सिना
unn.prixa.net

आफूजस्तै दुरुस्तै तस्बिर बनाइदिनेलाई हामी कति इनाम दिन्छौँ ?  चार सय, पाँच सय । केही नभए पनि हामी एक दुई सय रुपैयाँचाहिँ दिन्छौँ । तर चित्रकार अजय देशारले भने दुरुस्तै अनुहार बनाएको पाए एक मोहोर । 

सुन्दा पत्याउनै सकिन्न । उनले पनि पत्याएनन । पाँच दिन लगाएर बनाएको तस्बिरको मात्रै एक मोहोर । उनलाई झनक्क रिस पनि उठ्छ । 

तस्बिर बनाउँदा निकै मिहेनत गरेर बनाए । तस्बिर बनाउँदै गर्दा उनलाई लागेको थियो– ओहो कस्तो राम्रो बनाएँ । पक्कै पनि बनाउन दिने व्यक्ति खुशी हुन्छ । तस्बिरको काम सकिन्छ । सम्बन्धित व्यक्ति लिन आउँछ । प्रफुल्ल मनले उनी तस्बिर दिन्छन् । एकैछिनमा फिस्स पर्छन् । 

प्रशंसा र केही रकम पाइएला भन्ने आश बोकेका उनको आशा निराशामा बदलियो । ‘तस्बिर बनाउन दिनेले ‘कति रुपैयाँ दिउँ’ भनेर सोधे । अप्ठेरो मान्दै मैले मिलाएर दिनुस् भने । उनले त मुसुमुसु हास्ँदै खल्तीबाट एकमोहोर झिकेर ‘ल तिमीलाई यो इनाम । अझ राम्रो गर्दै जानु’ भने ।

अजय देशारलाई पृथ्वी भासिएजस्तै भयो । रिसको पारो चढ्यो । उनले त्यो एकमोहोर लिएनन, उल्टै धन्यवाद दिएर फर्काए । उनलाई यो कुरा सहन निकै गाह्रो भयो । त्यसपछि उनले हरेक दिन एक जनाको तस्बिर बनाउने अभियान नै कसे । एक वर्षमा तीन सय ६० जनाको उनले तस्बिर तयार पारे । यसले उनको आत्मविश्वासँगै हात समेत छिटो चल्ने बनाइदियो । एक मोहोरको घटना उनको लागि कोसेढुंगा बन्यो । 

जोखिम मोलेरै रुचीमा  

कलाले भरिएको जिल्ला ललितपुर । तर कलाबारे बुझ्ने मान्छे भने निकै कम । उसो त कसैले  नगरेको काममा हात हाल्नु निकै जोखिम हुन्छ । कलालाई चेतनायुक्त पागलपन भन्न रुचाउने अजय देशार धेरै राम्रा भनिएका चित्रकला बुझ्न किन सकिँदैन भन्ने जिज्ञासामा भन्छन्, ‘कलाकारले आफ्नो भावले कला बुनेको हुन्छ । यो  विषय बुझ्न धेरै अध्ययनको जरुरी छ ।’ 

‘नेपालमा अहिले रियालिस्कि पेन्टिङ अर्थात फोटोेमा वा कुनै देखिएका कुरा दुरुस्तै उतार्नेको बाढी जस्तै छ’, उनी भन्छन्, ‘तर यसलाई हामी आर्ट नै भन्दैनौँ । किनकी आर्ट भनेको कल्पना भन्दा पनि धेरै माथि हुनपर्दछ । जुन जो कसैले सोच्नै सकेका हुँदैनन् । कुनै कुरालाई दुरुस्तै उतार्नु भनेको त फोटोकपी गरे जस्तै भैगयो नि ।’ 

बाल्यकाल भकुण्डो खेलेर हैन धेरैजसो डढेको भाडा माझेरै बित्यो 

बाल्यकाल र कला जोडिन्छ की जोडिँदैन ? गहभरी आँशु पार्दै देशार सम्झन्छन्, ‘सायद म सात÷आठ वर्षको थिए होला । आमा बित्नुभयो । यो बेला रमाइलो गरौं, मिठो खाउ र चकचक गरौँ भन्ने हुन्थ्यो । तर आमा बितसँगै म सुग्घरी छोरोबाट एकाएक फोहोरी भए । साथीभाई औँला तेर्साएर देखाउँथे ... ‘उ फोहोरी’ आयो ।’ 

आमाको माया नपाए पनि बुबाको साथमा कुनै कम भएन । उनले लुगा सफा पारिदिने होइन भविष्य नै सुग्घर बनाइदिने बुवाको साथ पाए । 

कुनै दिन भकुण्डो खेल्न जान मन लाग्थ्यो । चुलामा भात बसालेर दौडन्थे खेल्न । सानै उमेर । भात भान्छा भन्दा मन खेल्नै रमाउँथ्यो । थाहा थिएन कति आगो लाउनु पर्छ भन्ने । उनी खेलेर आउँदा भात सबै डढ्थ्यो । अनि चुलोसित कानेखुशी गर्दै फेरि हतार हतार अर्को बान पकाउँथे ।

‘थाहा नै थिएन नि कति आगो लगाउने भनेर, भात बसालेर हिँड्यो, आउँदा सबै डढ्ने । घरमा कोही हुँदैनन् थिए त्यसैले गाली चाहिँ खानु परेन’, उनी भन्छन् ।

बाटोमा भेटिएको ब्रुसले फेरियो जीवन

उनी त्यो दिन कहिल्यै बिर्सन सक्दैनन्, ‘बुवाले हातमा हल्लाउँदै ल्याएको एउटा ब्रस देखाउँदै भन्नुभयो – यो एउटा सानो ब्रस मैले बाटोमा भेट्टाएको । यो ब्रस तिम्रो जीवन  परिवर्तन गर्ने कडी बनोस् । थाहा छैन बुवाले किन यस्तो भन्नुभयो । तर यो दिनदेखि मैले अब केही गर्नुपर्दछ भन्ने अठोट गरे, अनि ललितकला क्याम्पसमा पढ्न भर्ना भएँ ।’

ललितकला क्याम्पस खोज्न दुई दिन लाग्यो । अहराइपराई र बाटो देखाउने मान्छे नहुँदा एक्लैले नै खोजे क्याम्पस । पढाइसँगै उनले आफ्नो रुचीलाई लक्ष्यसित जोडेर हेर्न थाले । अनि ८ कक्षामा पढ्दा रहरले र समय बिताउन बनाएको बुवाको तस्बिरले व्यावसायिक रुप लिन थाल्यो । 

सुराकी भन्दै पिटिएको र लण्डन ब्रिजमा बिताएको रात 

हास्ँने खेल्ने उमेरमा नै दुखसँग पौठेबाजी खेलेका उनले जीवनमा पटक–पटक परीक्षा दिइरहनुपर्‍यो । 

सानैमा आमाको ममता गुमाए पनि आफूलाई सम्हाल्दै हुर्केका उनले किशोरावस्थामा झुटो आरोपमा पिटाई समेत खाए । तर आमालाई जति नै माया गरेकै हुुनाले उनले रंग र ब्रसलाई फाल्नै सकेनन् । 

कठिनाई, अप्ठेयारा आफ्नै ठाउँमा । संघर्ष गर्न पछि हटेनन् । प्रमाण पत्र तह पढ्दै गर्दा उनी चित्र बनाउन जन्मथलो ललितपुरको चापागाउँदेखि अलि पर पुगे । 

तर उनले त्यहाँ नसोचेको परिणाम भोग्नुपर्यो । कुटो कुदालो बोकेरै उनीमाथि गाउँले जाइलागे । धेरै दुःख गरेर जम्मा पारेको पैसाले किनेको रंग उनले त्यहीँ फालेर दौडिए । 

बिजुली चुहावट हुने त्यो क्षेत्रमा प्राधिकरणले सुराकी गर्न कर्मचारी पठाएको भन्दै गाउँलेले कुरै नबुझी उनीमाथि कुटपिट गरे । उनले आफू चित्र कोर्न मात्रै आफू आएको बताए पनि गाउँलेले पत्याएनन् ।

संघर्षको रस्साकस्सी यतिमै सीमित भएन । उनी उच्च शिक्षाका लागि लण्डन गए । यहाँ पनि उनले परीक्षा दिनुपर्यो । शिक्षाका लागि भनेर दुःखजिलो गरेर लण्डन पुगे पनि त्यहाँ उनले पढ्ने कलेज नै भागिदियो । ‘अघिल्लो दिन बिहान पढेर कोठा फर्किएको, भोलिपल्ट पढ्न जाँदा त कलेज नै  थिएन’, अजय देशार सम्झन्छन्, ‘मैले कलाकार बन्ने संघर्षमा दुःख पाएर बाटोमा नै सुतेको र पढेको थिएँ, यो कुरा आफैले नै भोग्नुपर्यो ।’ 

लण्डनको सुरुको बसाइमा ६ महिनासम्म देशारले काम पाएनन् । दुःख धेरै पाए । लण्डन ब्रिजको स्टेशनमा सुते । तर दुःखसँगै उनीसँग सीप थियो । त्यो समयमा उनले त्यहीँ बसेर चित्र कोर्न थाले, स्केच बनाउन थाले । अनि त्यहीँबाटै बेच्न थाले । यसले उनलाई जीवनयापन गर्न मात्रै सहज भएन लण्डनमा स्थापित नै गरायो । 

उच्च शिक्षापछि उनी स्वदेश फर्किए । लण्डन बसाइमा सम्मानजनक जीवनयापन र लोभलाग्दो कमाइ देखाएर उनलाई रोक्न खोज्ने साथी धेरै थिए । तर उनी बसेनन् । चित्रकला सिक्दै गर्दा आफूले पाएको दुःखलाई सम्झिँदै कला क्षेत्रमा केही गर्छु भनेर फर्किए । साढे ३ वर्षको लण्डन बसाइपछि उनले फेरि ललितकलामा कलामै मास्टर्स गरे ।

जीवनसाथी माग्न जाँदाको क्षण

साथीसँग पशुपति गएका बेला भेट भयो सीतु मास्केसित । भेटमा उनलाई सीतु आफ्नै जीवनसंगिनी बन्नका लागि जन्मेको भन्ने लाग्यो । सीतुसित केही कुरा गरे । उनको अनुमति पाएपछि हात माग्न उनी एक्लै सीतुको घर पुगे ।

आमाबाबुसहित छोरी माग्न जाने नेपाली चलन विपरीत देशार एक्लै सीतुसित विवाहको कुरा लिएर गएपछि सुरुमा केटी पक्ष छक्क परे । तर कुराकानीका क्रममा उनले ठूला सपना पूरा गर्न र धेरै पढाइलेखाई गराउन नसके पनि खानलाउनकै लागि कुनै दुःख नहुने भने पछि विवाहको कुरा छिनियो । आफ्नै मिहेनतले पहिचान बनाएका देशारले विवाह कुरा चलाउँदा भने पुर्खाैली सम्पत्तिको आड लिए ।

दुःखले जगले बनाएको देशारको घरमा अहिले खुशीले रंग पोतेको छ । दुई छोरीलाई क्यानभासमा चित्र बनाउन छोडिदिन्छन्, सँगै श्रीमती सीतुलाई पनि चित्र बनाउन प्रेरित गर्छन् । आफूलाई कलाकार बनाउन उज्यालो सपना र बाटो देखाउने बुवा पनि अहिले देशारको साथमा हुनुहुन्न । तर बुवाले दिएको ब्रस भने अझै पनि उनीसँगै छ । जुन ब्रसले उनलाई अजय देशार भनेर चिनाइरहेको छ । 

 

अन्तिम अपडेट: मंसिर १२, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Bijaya pariyar

    Jan. 13, 2019, 1:59 a.m.

    Deepa je really very nice article. हजुरले यस्तो राम्रो आर्टिकल कहाँबाट भेट्नुभयो ? म त हजुरको फ्यान नै हुँ / अब मैले यस्तो आर्टिकलको अपेक्षा गरेको छु, जुन हजुरले आफ्नो जिन्दगीमा भोगेको होस् / I will be waiting for that. Anyway deepa je keep it up.

  •  0 Reply

तपाईको प्रतिक्रिया