पुरानो बसपार्कमा निर्माणाधीन काठमाण्डौ भ्यू टावर निर्माणका लागि ५ वर्ष समय थपियो

 चैत २८, २०७५ बिहिबार १७:३५:१ | देव पचभैया
unn.prixa.net

काठमाण्डौ – रत्नपार्कको पुरानो बसपार्कमा निमार्णाधीन काठमाण्डौ भ्यू टावर निर्माणका लागि  ५ वर्ष समय थपिएको छ ।  

यही चैत १० गते बसेको काठमाण्डौ महानरपालिकाको  बैठकले भ्यूटावर निर्माणका लागि ५ वर्ष समय थप्ने निर्णय भएको भ्यू टावर निर्माणका लगानीकर्ता मिग नेपालका प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।  २०७१ फागनु २२ गते टेन्डर जितेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले उपराष्ट्रपति नन्द बहादुर पुनबाट शिलान्यास गरी आर्थिक वर्ष २०७४/७५ मा वाट काम सुरु गरेको थियो ।  

काठमाण्डौ महानगरपालिकासँग ३० वर्षका लागि लिजमा लिएर निर्माण कार्य अघि बढेको भ्यू टावर निर्माणमा भूकम्प, नाकाबन्दीलगायतका कारण समस्या आएपछि थप २ वर्ष समय थपिएर ३२ वर्षसम्म सञ्चालनको अनुमति दिइएको थियो । हालै थपिएको ५ वर्ष गरी अब लगानीकर्ताहरुले ३७ वर्षसम्म भ्यू टावरको जिम्मेवारी पाएका हुन् । 

झण्डै २३ रोपनी क्षेत्रफलमा  ७ अर्ब ६४ करोडको लागतमा बन्न लागेको ३३ तले भ्यूटावर निर्माणको काम तीव्र रुपमा अघि बढेको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीका सञ्चालक मनोज भेटवालले जानकारी दिनुभयो । आउँमी जेठ महिनामा डीपीसी लेबल सम्पन्न हुनेगरी अहिले काम भैरहेको भेटवालको भनाइ छ । भूकम्प प्रतिरोधात्मक भ्यू टावर   निर्माणका लागि जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स, आइडिया फर नेपाल र मिग नेपालको २० प्रतिशत लगानी रहेको छ । 

सबै कुरा एकै ठाँउ भन्ने उद्धेश्य लिएर अघि बढेको काठमाण्डौ भ्यू टावरमा कार पार्किङदेखि, बैंक ,होटल, चलचित्र मन्दिर घरसमेत त्यही स्थानमा हुने छ । काठमाण्डौका १७ रुटमा चल्ने गाडीसमेत भ्यू टावर हुँदै छुट्ने छन् ।   २०२० सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य भैरहेको काठमाण्डौ भ्यू टावरका नेपाल प्रमुख हुमबहादुर थापाले जानकारी दिनुभयो । 

गत  मंसिरबाट मात्रै मिग नेपालले २० प्रतिशत शेयर लिएर भ्यू टावर निर्माणमा जुटेको थापाको भनाइ छ ।  ‘हामी आउनुअघि ९ महिनासम्म निर्माण कार्य रोकिएको थियो’, थापाले भन्नुभयो, ‘रोकिएको कामलाई मगर भिच्छुहरुबाट पूजा गरेर काम सुरु भएको हो ।’ 

भ्यू टावर निर्माणका लागि लगानी जुटाउँदै 

भ्यू टावर निर्माणका लागि मगर अगुवाहरुले देशविदेशमा रहेका मगरहरुलाई सहभागी गराउन अभियान चलाएका छन् । कुल लागतको २० प्रतिशत लगानीको अवसर पाएको मगर इन्भेष्टमेन्ट गु्रप (एमआईजी) नेपालको नेतृत्वमा सबै मगरहरुलाई सहभागी गराउने गरी अभियान संचालन भैरहेको यूके मगर संघका निर्वतमान अध्यक्ष एवम् काठमाण्डौ भ्यू टावरका ग्लोबल  कोअर्डिनेटर नेम थापा मगरले जानकारी दिनुभयो । 

मिग हङकङबाट सुरु भएको भ्यू टावरमा लगानी कार्यक्रम यूके हुँदै अहिले संसारभर रहेका मगरहरु सहभागी भएको मिग हङकङका संयोजक सुमन थापाले बताउनुभयो । मिग नेपालका प्रमुख समेत रहनुभएका थापाका अनुसार आगामी जेठ महिन भित्र डीपीसी लेभल सम्पन्न गर्ने गरी अहिले तीव्र रुपमा काम भैरहेको छ ।

काठमाण्डौ भ्यू टावरका नेपाल संयोजक हुमबहादुर थापाका अनुसार पैसा भएकाहरुलाई मात्रै समेट्नेभन्दा पनि गाँउमा कुखुरा बाख्रा बेच्ने मगरहरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्ने गरी नेपालका सबै जिल्लाहरुमा जानकारी दिन अन्तरक्रियात्मक कार्यक्रम भैरहेको छ । 

गएको मंसिर महिनाबाट मात्रै भ्यू टावर निर्माणमा जोडिएको भए पनि यसबीचमै मिग नेपालमा ६५ करोडभन्दा बढी लगानी जुटेको मिग नेपालका लेखा प्रमुख भिम थापाले जानकारी दिनुभयो । हाल खुलामञ्चमा सञ्चालन भैरहेको बर्सपार्क समेत काठमाण्डौ भ्यू टावरको जिम्मामा रहेको छ । त्यहाँबाट दैनिक ५० हजार रुपैयाँ नगद प्राप्त भैरहेको मिग नेपालका नेपाल प्रमुख थापाले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया