संकटमा दमाहा बाजा र छलिया नाच

 बैशाख ३१, २०७६ मंगलबार १९:१:४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - पहिले पहिले हरेक शुभकार्य लगायत अन्य कार्यक्रममा गाँउघर नै गुन्जायमान हुने गरी विभिन्न ताल र शैलीमा बजाइँदै आएको दमाहा बाजा र मनै लोभ्याउने गरी आकर्षक तरीकाले नाचिने छलिया नाच पछिल्लो समय बैतडीसहित सुदूरपश्चिम प्रदेशमा संकटमा पर्दै गएको छ ।

दमाहा बाजाको छुट्टै मौलिक महत्व रहिआएको भए पनि अहिलेको युवापुस्ताले चासो नदिँदा यो बाजासँगै छलिया नाच पनि संकटमा पर्दै गएको छ । पश्चिम नेपालको कला संस्कृतिसँग जोडिएको दमाहा बाजा र दमाहा बजासँगै जोडिएको छलिया नाच अहिले कतै कतै मात्र देख्न र बजेको सुन्न पाइने गरेको दोगडाकेदार गाँउपालिका-३, श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

पहिले गाँउघरमा हरेक शुभकार्यमा दमाहा बाजाको प्रयोग गरिने गरेकाे भएपनि पछिल्लो समयमा विदेशी बाजाको प्रयोगले यो मौलिक बाजा र मौलिक छलिया नाच संकटमा परिरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम नेपालका अधिकांश समुदायमा मन्दिरमा देवीदेवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, ब्रतबन्ध, न्वारान जस्ता शुभकार्य गर्दा होस् दमाहा बाजा अनिवार्य रुपमा बजाउनु पर्ने परम्परागत मान्यता रहेको छ । तर यो पेसातर्फ युवापुस्ताको ध्यानकर्षण गराउन नसक्दा दमाहा बाजा र छलिया नाच नै लोपोन्मुख अवस्थामा पुग्न लागेको सुर्नया गाँउपालिका वडा न. ६ कुमाइखोलाका हरिदत्त अवस्थीले जानकारी दिनुभयो ।

पछिल्लो पुस्ताले दमाहा बाजा तथा छलिया नाचको बारेमा थाहा नपाउने हुनाले र दमाहा बजाउन नआउने भएकाले परम्परागत संस्कृति नै धरापमा पर्ने भएकाले यसको संरक्षण र संवर्द्धन गर्नु आवश्यक रहेको उहाँकोे भनाइ रहेको छ  । 

बिस्तारै बाहिरी संस्कृति भित्रिँदै गएको र हाम्रो स्थानीय कलासंस्कृति क्रमश लोप भइरहेको हुँदा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समय - समयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरी परम्परागत बाजा नाचहरुलाइ प्रोत्साहन गरिनुपर्नेमा स्थानीय जानकारहरुले जोड दिएका छन् ।

दमाहा बाजाको तालमा नाचिने छलिया नाच, ढुस्को, धमारी लगायतका मौलिक नाचहरु पनि लोप भइरहेका छन् । यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने आवश्यकता छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया