आफ्नै कर्मचारीकी श्रीमतीलाई जबर्जस्ती करणीकाे आरोपमा उद्योग सञ्चालक जेल चलान

 जेठ १६, २०७६ बिहिबार १९:४९:२३ | सुमन तिमल्सिना

माेरङ – आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई जब करणी गरेको आरोपमा उद्योग सञ्चालक पुर्पक्षका लागिजेल चलान भएका छन् ।

उद्योग सञ्चालक विराटनगर-३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको इजालसले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । 

अदालतको आदेशपछि गौतमलाई पुर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाइएको छ । गौतम विराटनगर-३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि-डिजाइनका काम र सीटीपीको प्लेट बन्ने गरेको छ । 

त्यही उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गएको वैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठाभित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले गएको वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले त्यसैदिन गौतमलाई पक्राउ गरेको थियो ।

गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिसरमै लामो समयदेखि 'फेमिली क्वार्टर' मा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा ती महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको थियो ।

गौतमले गएको १५ वैशाखमा उद्योगको बाथरूममा लगेर करणी गरेको आरोप छ । आराेपित गौतमका दुई श्रीमती रहेकाे पनि बताइएकाे छन् ।

तर गौतमका परिवारले भने उनलाई फसाएको बताउँदै आएका छन् । त्यहीँ बस्दै आएका ती कर्मचारीले काम गराउँदा चित्त नबुझेपछि यसरी फसाइएको गौतम परिवारको भनाइ छ ।  


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया