यसैगरी बिताइदिन्छु दुई दिनकाे जिन्दगी...

 भदौ २२, २०७६ आइतबार १५:५२:२३ | विशाल कार्की

झापाको ‘ग्रेस होटेल’को त्यो साँझ संगीतमय भयो । सांगीतिक आकर्षणले तानिएर पाहुनाहरु एकै ठाउँ झुम्मिए । रानीमौरीको भाषा बुझेर मौरी तानिएझैँ ठूलो कोठाभरी छरिएको गीतको गुञ्जनले एकैछिनमा पाहुनाको घेरामा परे उनी ।

नारायण गोपालको ‘झर्‍यो जिन्दगी, फुट्यो जिन्दगी’ गाएपछि उनले पाहुनाका दुई वटा गीति ‘फर्माइस’ पनि पूरा गरे ।     

‘मेरो नाम श्रीराम हो’ उनले आफ्नो नाम त भने । तर के गर्नुहुन्छ यहाँ? भन्ने प्रश्नको जवाफ दुई, चार वाक्यमा मात्र टुङ्ग्याउन चाहेनन् । अनि हामीलाई २०६४ सालतिर धनुषाको तुलसी गाउँको आफ्नो जन्मथलो पुर्‍याए । जुन गाउँ अहिले मिथिला नगरपालिकाको वडा नं ११ मा पर्छ ।

मलाई खोज्दै आमा आउनु भयो । हिँडेर घर जान सक्दिनँ भनेपछि आमा मलाई बोक्ने मान्छे खोज्न जानु भयो । देब्रे खुट्टाको गोलीगाँठो फुटेर रक्ताम्मे थियो’, खुट्टा देखाउदै श्रीरामले भने, ‘थाहा पाउँदा म रुखको जरामा लडिरहेको थिएँ ।

श्रीराम गाई बाख्रालाई स्याउला लिन जङ्गल गइरहन्थे । ‘अंगालोले नभेट्ने रुखमा पनि चढ्न सिपालु थिएँ । त्यो दिन चढेको रुख त्यति ठूलो पनि होइन’, आफूमा २९ वर्षे जवानीको जोश हुँदाको क्षण उनले सुनाउन थाले ।

रुखको हाँगामा पुगेपछि पनि धेरैबेर त हात खुट्टा डगमगाएका थिएनन् । उनीसँग त्योभन्दा बडेमानमा रुखमा सुरेली खेलेको अनुभव पनि त थियो । त्यसैले उनका लागि त्यो रुख चढ्नु ठूलो कुरै भएन । तर त्यो दिन उनको अनुभवको केही लागेन । जसको परिणाम आजसम्म भोग्दैछन् । उनै शब्दमा भनौँ, एक एक गरी चुक्ता गर्दैछन् ।

हातले रुखलाई राम्रैसँग अँठ्याएका थिए । खुट्टा भने झुण्डिएका थिए । एक्कासी हात गलेकोसम्म याद छ उनलाई ।

कसैले टाढाबाट आवाज दियो । त्यतिबेला पो थाहा पाएँ । म त रुखबाट खसेछु । मैले पनि उसैगरी आवाज फर्काएँ । मलाई खोज्दै आमा आउनु भयो । हिँडेर घर जान सक्दिनँ भनेपछि आमा मलाई बोक्ने मान्छे खोज्न जानु भयो । देब्रे खुट्टाको गोलीगाँठो फुटेर रक्ताम्मे थियो’, खुट्टा देखाउदै श्रीरामले भने, ‘थाहा पाउँदा म रुखको जरामा लडिरहेको थिएँ ।’

ढाड पनि छोइसक्नु थिएन । आमाले बोलाएर ल्याएका मान्छेको बुई चढेर श्रीराम घरसम्म पुगे । भएका एउटा दाइ पनि वीरगञ्जमा जागिरे । उनी पछाडि कोही छैनन् । भाइ मरणासन्न भएको खबर पाएपछि श्रीरामका दाजु तत्कालै रात्री बस चढेर घरतर्फ हानिए । बिहान ४ बजे घर पुगे । 

अस्पतालबाट फर्किएको १०/१५ दिनपछि दाजुको काँधमा हात लगाएर उभिन सक्ने भएँ । दाइले गाउँघर डुलाउन थाल्यो । बिस्तारै लट्ठीको भरमा मात्र पनि हिँड्ने भएँ ।

२०६४ सालमा श्रीरामको बिहे भएको ४ वर्ष मात्र भएको थियो । श्रीरामकी श्रीमतीले बेलुका दाइलाई खबर गरेपछि उनी आएका थिए ।

ढाडमा चोट भएकाले दाइले मलाई नारायणी अञ्चल अस्पताल लैजानुभयो । दुखाइ त थियो नै । दिसा, पिसाबसमेत रोकियो । दिसा, पिसाब नभएपछि शरीर फुलिएको थियो । पाइप लगाएर १६ दिनपछि डाक्टरले दिसा, पिसाबको निकास निकाले’, श्रीरामले भने, ‘डेढ महिनापछि डाक्टरले बाजे अब त सद्दे हुनुभयो, अब घर जानुस् भने । ढाडको चोट डेढ महिनामा के बिसेक हुन्थ्यो र । औषधोपचारपछि पनि एम्बुलेन्समै चढेर घरसम्म आएँ, ३ हजार तिरेर ।

अस्पतालबाट फर्किएको १०/१५ दिनपछि दाजुको काँधमा हात लगाएर उभिन सक्ने भएँ । दाइले गाउँघर डुलाउन थाल्यो । बिस्तारै लट्ठीको भरमा मात्र पनि हिँड्ने भएँ’, श्रीरामले थपे, ‘तर शरीरमा अर्काे समस्या पो थपियो । बागडोगरासम्म औषधि गर्न गएँ । कति आयुर्वेदिक औषधि खाएँ । ठिक भएन । नसा टुटफुट भएर हो कि गरुङ्गो भारी त उठाउन मिल्दैन । हाँस्दा, खोक्दा, हाछ्यूँ गर्दा पनि थाहै नभइ पिसाब झर्छ । थाहा नभएरै पिसाब हुन्छ । अनि त आफूलाई धिक्कार मान्यो, सकियो ।’ उनले सकिएको भाव दिने गरी आफ्नो हात झट्कारे ।

पहिलेजस्तो तन्दुरुस्त शरीर थिएन । केही त गर्नै पर्छ भनेर श्रीराम रोजगारीका लागि कलकता गए । कलकतामा पनि शरीरले साथ दिएन । १० महिनापछि श्रीराम घर फर्किए । घरको काम ज्यानले नसक्ने भयो । फुटेर जोडेको ढाडको हड्डीले पहिले जस्तो रुख चढ्न, भारी बोक्न किन मान्थ्यो र ? पाएको काम गर्छु भनेर उनी इटहरीमा काम गर्न थाले । एक वर्षभन्दा धेरै इटहरी पनि फापेन । श्रीरामले पूर्वको गाडी समाते । 

अनि उनले अगाडि गाए नारायण गोपालको गीत – यसैगरी बिताइदिन्छु दुइ दिनको जिन्दगी...।

‘गाडीमा एक जना दाइलाई केही काम पाइन्छ कि भनेर साेधेँ । ती दाइले यो होटलमा ल्याइदिनु भयो । अनि त यहीँ बसेको बस्यै छु ।

यति सुनाएपछि सबैले श्रीराम होटेलमै काम गर्छन् भन्ने पत्तो पाए । श्रीरामले बीच बीचमा गीत र विगतको कहानी पनि धाराप्रवाह सुनाइरहेका थिए ।  ठ्याक्कै गीति कथा जस्तो ।

‘बेला बेला घर गइरहन्छु । होटेलभन्दा बाहिरको काम गर्न शरीरले दिँदैन । १० वर्ष भयो, दिदीकोमा काम गर्न थालेको । दिदीले जहिलेसम्म यो होटेल चलाउनु हुन्छ, म यहीँ काम गर्छु ।’ आँखाको नानीले काउन्टरमा बसिरहेकी दिदीतर्फ संकेत गरे ।

उनको संगीत मोहबारे सोधेपछि फेरि उनी झन् बाल्यकालतिर फर्किए । ‘गाई गोठालो जाँदा खाली आधुनिक गीत सुन्थेँ । नारायण गोपाल भनेपछि अझै पनि अति नै मन पर्छ’, अरुण थापाको उदाहरण दिँदै श्रीरामले भने, ‘सद्दे शरीर हुँदा नै अरुण थापाजस्तो गीत गाउँदै हिँडेको भए हिँडेको हिँड्यै हुन्थ्यो । त्योबेला हिँडिएन ।’ पश्चातापको शैलीमा उनले आफूसँग आफैँ गुनासो गरे ।

‘जिन्दगीभरिका लागि शरीर कमजोर भयो । खुट्टा हिँड्नै नमिल्ने त छैन । मेरो मुख्य समस्या भनेको पिसाब नै हो ।’ श्रीरामले पटक पटक उही समस्या पुनरावृत्ति गराइरहँदा पिसाबको अचेत स्खलनले उनको मन मस्तिष्कमा चल्ने हुन्डरी त कल्पना मात्र गर्न सकिन्थ्यो । यसको कल्पना मात्र पनि कसैका लागि सामान्य त लाग्दैन नै । 

होटेलको काम । समय समयमा उनलाई कपडा फेरिरहनु पर्छ । ‘बाहिर सकभर जान्नँ । जानै परे कसैको नजिक पर्दिनँ । अरुलाई पो थाहा छैन । मेरो समस्या त मलाई थाहा छ नि’, उनी भन्छन्, ‘कसैलाई दुःख दिन चाहन्नँ । चाडपर्वमा घर जान्छु । दुई छोरीले नै धनुषामै बस्नुस् भन्छन् । तर अब काँकडभिट्टामै रमाइलो लाग्छ । बेलाबेला पैसा पठाउँछु ।

दुःखका गीत सुन्छु । धत् कस्तो दिनमा जङ्गल गएछु भन्छु । आफूलाई धिक्कार्छु । अरु त के गर्नु’...(त्यति भनेर उनी केहीबेर नि:शब्द भए ।)

अनि उनले अगाडि गाए नारायण गोपालको गीत – यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी...। 

अन्तिम अपडेट: मंसिर १०, २०७६

विशाल कार्की

विशाल कार्की उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया