यूएईमा समस्यामा परेका नेपाली कामदारको उद्धार, सयभन्दा बढीलाई नेपाल फर्काइयो

 असोज २, २०७६ बिहिबार १३:३:३ | उमाकान्त पाण्डे

यूएई – यूएईको आबुधाबीमा अलपत्र परेका नेपालीहरुको उद्धार प्रकृया सुरु भएको छ । समस्यामा परेका कामदारलाई आबुधाबीमा रहेको नेपाली दूतावास र स्थानीय अदालतको सहकार्यमा उद्धार प्रकृया सुरु भएको हो । 

बुधबारसम्म १ सय २० जना नेपाली पुरुष कामदारलाई उद्धार गरेर नेपाल फर्काइएको आबुधाबीस्थित नेपाली दूतावासका श्रम सहचारी मोतिराम भुसालले बताउनुभयो ।

आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् कम्पनीमा कार्यरत पुरुष महिला गरी झण्डै २ सय ५० जना नेपाली कामदार कम्पनीको लापरवाहीका कारण समस्यामा परेका थिए । त्यस कम्पनीमा नेपालीसहित ६ सय भन्दा धेरै कामदार अहिले समस्यामा छन् । काम गरेवापत ६ महिनासम्म तलब नदिएको र भिसा नविकरण नगरिदिएकोले कामदार समस्यामा परेका हुन् ।

कम्पनीले काम गरेको तलबसहित नेपाली कामदारलाई नेपाल फर्काउन थाले पनि  भिसा सकिएकाहरुलाई भने काम गरेको पैसा नदिएको पीडितले गुनासो गरेका छन् । 

‘कम्पनीले तत्काल भिसा सकिएर अवैधानिक भएका कामदारलाई एकतर्फी हवाइ टिकटबाहेक काम गरेको ६ महिनाको तलब र सेवासुविधा केही दिएको छैन’, पीडित सर्लाहीका गोपिलाल चौधरीले बताउनुभयो ।

अहिले पुरुष कामदारलाई नेपाल पठाए पनि आइतबारदेखि महिला कामदारलाई पनि नेपाल पठाइने छ । ८ जना नेपाली महिलालाई आगामी आइतबारको हवाई टिकटसहित नेपाल फर्काउने तयारी भएको सहचारी भुसालले बताउनुभयो । 

समस्यामा परेका केहीले तीन महिना पहिले नेपाली दूतावास आबुधाबीलाई जानकारी गराएका थिए । लामो समयसम्म दूतावासले चासो दिएको थिएन । तर समस्यामा पर्ने कामदारहरुको नियमित दबाबपछि दूतावासले कानुनी प्रकृया सुरु गरेको छ । 

अहिले कम्पनीले दैनिक २० देखि ३० जना कामदार सम्बन्धित देश फर्काउन सुरु गरेको गरेकाेे छ । कतिपयले यही अर्को काम खोज्ने र कतिपयले नेपाल फर्किने भनेकाेले अदालत , कम्पनी र दूतावास मिलेर काम गरिरहेको दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो ।

‘अहिले कम्पनीले दैनिक २० देखि ३० जना कामदार सम्बन्धित देश फर्काउन सुरु गरेको छ’, उहाँले भन्नुभयो, ‘बुधबारसम्म १ सय २० जना नेपाली कामदार घर फर्किसक्नुभयो, केहीले यतै काम खोजेर काम गर्ने भन्नुभएको छ ।’

मंगलबार मात्रै ३४ जना नेपालीलाई एकै पटक एयर अरबियाको उडान मार्फत नेपाल फर्काएको थियो । कम्पनीमा समस्या परेको बारे उज्यालो अन्लाइनमा समाचार प्रकाशन भएपछि दूतावासको सम्पर्कमा आउने पीडितहरु बढेका छन् ।

त्यस कम्पनीमा कतिजना नेपाली कार्यरत छन् र कति समस्यामा छन् भन्ने एकिन तथ्यांक नभए पनि अहिलेसम्म २ सय ५० जना भन्दा धेरै पीडितहरु सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

समस्यामा परेका कामदारले २४ औँ विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन अघिल्लो हप्ता यूएई आउनुभएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँग दूतावासमा भेटेर आफूहरु समस्यामा परेको जानकारी समेत गराएका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया