संरक्षणको पर्खाइमा सिञ्जाका पुरातात्विक सम्पदा

 कात्तिक ४, २०७६ सोमबार ११:५६:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सिञ्जा क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु संरक्षणको पर्खाइमा छन् । सिञ्जा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको हो । 

उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको छ । सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिर क्षेत्र, विराट दरबार, पाण्डव गुफालगायतका ऐतिहासिक सम्पदाहरु संरक्षण अभावमा जीर्ण बन्दै गइरहेका छन् । 

सिञ्जा क्षेत्रमा रहेका मूर्तिहरु, ढुंगेधारा तथा देवलहरु, स्तम्भहरुको संरक्षण हुन नसक्दा चोरी हुने, फुट्ने क्रम बढिरहेको छ । कनकासुन्दरी मन्दिर जाने बाटोमा रहेको ढुंगाको मुर्ति ‘स्यूबाग’ पनि फुटेको अवस्थामा छ ।

यस्तै, यहाँको विराट दरबार पनि संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । पछिल्लो समयमा यो दरबार क्षेत्र भत्किएर सानो अवशेषको रुपमा मात्रै छ  । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा भेटिन थालेको स्थानीयले बताएका छन् ।

सिञ्जा गाउँपालिकाको जाँचगाउँमा रहेको भिमशेनको विशाल ढुंगाको तावा फुटेर मालिका माध्यमिक विविद्यालयभित्र राखिएको छ । सिञ्जा सम्पदाको उत्खनन् र संरक्षणमा राज्यले प्रथामिकता नदिएको स्थानीयको गुनासो छ । संरक्षणमा राज्यले खासै प्रथामिकता नदिएकोले यो क्षेत्रको इतिहास नै संकटमा परेको कनकासुन्दरी गाउँपालिका–४ हाटसिञ्जा निवासी ८९ वर्षीय धनलाल हमालले बताउनुभयो ।

उहाँका अनुसार १९९१ पुस १ गते कनका सुन्दरी मन्दिर नजिकै पाखो जग्गा जोत्दा सुन फेला परेको थियो । त्यो सुन स्थानीयले नै उपभोग गरेको उहाँले बताउनुभयो ।

सिञ्जा खस सभ्यताका जानकार स्थानीय तुंगनाथ उपाध्याय सिञ्जाका पुराना सम्पदाहरुको संरक्षणका पूर्वाधार तयार गर्नुपर्ने, कनका सुन्दरी मन्दिर क्षेत्र लगायतका सिञ्जाका विभिन्न स्थानमा उत्खनन् गरी भेटिएको सम्पति संग्राहलयमा राख्नुपर्ने बताउनुहुन्छ ।

सिञ्जा क्षेत्रमा रहेका विभिन्न धार्मिक–सांकृतिक, गुफा, मन्दिर, मूर्ति संरक्षणको पर्खाइमा छन् तर यस्ता पुरातात्त्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयहरु बताउँछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया