'फिलिपिनो लिम्बुनी'को कथा : घर बिर्तामोड, माइती फिलिपिन्स ! (भिडियाेसहित)

 कात्तिक २८, २०७६ बिहिबार ११:४९:५७ | सन्जिता देवकोटा

झापा – क्रिष्टिना भिल्लारमीनो प्रसाई । नाम सुन्दै थाहा हुन्छ, उहाँ नेपालीसित बिहे गरेकी विदेशी महिला हो । तर क्रिष्टिना भन्नुहुन्छ ‘म त लिम्बुनी ।’ अनि मुस्कुराउँदै थप्नुहुन्छ ‘मलाई आफू लिम्बुनीजस्तै लाग्छ, अरुले पनि यसै भन्छन् ।’ तर क्रिष्टिना ‘लिम्बू' त हुँदै होइनन् ।

गोलो अनुहार, सेतो छाला । रिष्टपुष्ट देखिने ज्यान । ‘ब्वाइज कट’ काटेको छोटो कपाल । क्रिष्टिनालाई देख्दा सबैले सोध्छन्, ‘नानीको माइती चाहिँ कता ?’ 
त्यतिबेला फेरि क्रिष्टिना भन्नुहुन्छ, ‘म त लिम्बुनी ।’ ‘लिम्बुनी भनेपछि ताप्लेजुङ, पाँचथर कतै होला भन्ठाछन् होला, बाँकी सोध्दैनन् ।’

क्रिष्टिनाले आफूलाई ‘म त लिम्बुनी’ भन्नुको दुईटा कारण छन् । 

पहिलो, फिलिपिन्सकी छोरी भए पनि आफ्नो रुपरंग नेपालको लिम्बू समुदायसँग मिल्दोजुल्दो छ । सबैले लिम्बुनी भन्छन् भने उहाँलाई पनि लिम्बू नै हुँ भन्न सजिलो लाग्छ ।

दोस्रो, बिहे गरेर नेपाल आउँदा क्रिष्टिनालाई नेपाली आउँदैनथ्यो । जानेको एउटा शब्द यही एउटा थियो । त्यसैले परिचयमा लिम्बूनी भन्न सजिलो भयो । 

सन् २००९ मा पहिलोपटक नेपालकी बुहारी भएर झापाको घरमा भित्रिंदा गाउँका मानिस विदेशी बुहारी हेर्न भेला भए । विदेशी केटी भनेपछि धेरैको मनमा नेपाल घुम्न आउने गोरी, अग्ली युरोपेली र अमेरिकी महिलाको अनुहार आउँछ ।

तर क्रिष्टिनाको अनुहार र उचाई मान्छेका दिमागमा बसेको विदेशी महिलाको भन्दा अलग छ । विदेशी बुहारी हेर्न आएका मान्छेले भन्न थाले, ‘विदेशी केटी भन्थे, डल्ली लिम्बूनी पो ल्याए छ ।’ 

त्यो क्षण सम्झंदै क्रिष्टिना भन्नुहुन्छ, ‘त्यहीबेलादेखि मलाई लाग्यो, म मान्छे त फिलिपिन्सकी थिएँ, तर नेपाल आएपछि लिम्बू नै हुँ जस्तो लाग्यो ।’

वैदेशिक रोजगारीले जुराएको जोडी

२००९ मा झापाको बिर्तामोडमा नेपालकी बुहारी भएर भित्रिएकी क्रिष्टिनाको नेपालीसँग माया बसेको २००७ मा हो । कुवेतको एक होटलमा रिसेप्सनिष्टको काम गर्नुहुन्थ्यो क्रिष्टिना ।

अनि हिमालय प्रसाईं चाहिँ यूएईको एक पेट्रल पम्पमा । फरक देशमा काम गर्ने यी दुईको माया बसाउन भूमिका खेलिन क्रिष्टिनाकी दिदीले । यूएईमै काम गर्ने क्रिष्टिनाकी दिदीसँग साथीमार्फत हिमालयको चिनजान भएको थियो । एकदिन उनले नै हिमालयलाई आफ्नो बहिनीको प्रस्ताव राखिन् । 

मेरो बहिनी कुवेतमा काम गर्छिन्, तिमीहरु कुरा गर भन्ने हिसाबले कुरा गर्नुभयो उनको दिदीले, मलाई पनि कुरा गर्दैमा त के हुन्छ र भन्ने लाग्यो, मैले नै हो कुराकानीको सुरुवात गरेको,’ हिमालय सुनाउनुहुन्छ । 

‘इट्स मि हिमालय प्रसाई, विल यू बी माई फ्रेइण्ड ?’ क्रिष्टिनालाई म्यासेज आयो ।

दिदीले धेरथोर बताएकाले क्रिष्टिनाले कुराकानी गर्नुभयो । 

अहिलेजस्तो भिडियोमा कुराकानी गर्ने माध्यम थिएन त्योबेला । म्यासेज र फोनमा कुराकानी निरन्तर हुन थाल्यो । दुवैको कुरा मिल्थ्यो । सोच मिल्थ्यो । दुवैले सोचे, ‘एक पटक भेटौं ।’

‘कुराकानी गर्दा गर्दै कतिबेला माया बस्यो थाहै भएन,’ थोरै मुस्कुराउँदै क्रिष्टिना भन्नुहुन्छ, ‘एकले अर्कोलाई माया गर्छौं भन्ने अनुभव भएर नै हो भेटौं भन्ने भएको पनि ।’ कुराकानी गरेर मात्र हुँदैन, भेट्न पनि पर्छ ।

भेटेर एक अर्कासँग कुराकानी गर भन्ने क्रिष्टिनाकी दिदीको जोड थियो । हिमालयलाई लाग्छ, सायद क्रिष्टिनाको दिदी नभएको भए आज यो जोडी सँगै हुने थिएन । 

क्रिष्टिनाको बिदा मिल्यो । बिदाको मौकामा भेट्ने योजना बन्यो । कुवेतबाट यूएई आउँदा क्रिष्टिनालाई लिन विमानस्थलमा पुग्नुभएको थियो हिमालय । 

आफ्नो मायालाई भेट्न कुवेतदेखि उड्दै आएकी क्रिष्टिनाको उत्साह हिमालयलाई देखेपछि छिनमै सकियो । हिमालयको फोटो पनि देख्नुभएको थिएन । आवाज सुन्नुभएको थियो । म्यासेज र आवाजका आधारमा मायाको चित्र थियो मष्तिस्कमा । 

‘नेपाली हुँ भन्ने तर देख्दा त इण्डियनजस्तो नि, अग्लो कत्रो हो मान्छे त,’ क्रिष्टिना भन्नुहुन्छ, ‘त्यतिबेला त डर लाग्यो, छाडेर भाग्नु कि के गर्नु भयो ।’

हिमालयलाई पनि पहिलो पटक क्रिष्टिनालाई देख्दा त्यस्तै अनुभव भयो । पातली, होची अनि मंगोलियन अनुहार । आफ्नै ठाउँका राई लिम्बू साथीजस्तै । 

‘उ अग्लो, म होचो, उ भरतीयजस्तो, म त कस्तो कस्तो केही त मिल्दैन, तर मानिसको मूल्याँकन उसको रुप हेरेर हुन्न’ क्रिष्टिनाले फोनमा र म्यासेजमा गफ गर्ने त्यो असल केटो सम्झनुभयो । 

दिदीले पनि तिमीलाई मान्छे मन परेन भने छाडिदेउ भनेकी थिइन् क्रिष्टिनालाई । तर उहाँले कसैको कुरा सुन्नुभएन । आफ्नो मनलाई सुन्नुभयो । हिमालयलाई पनि क्रिष्टिनाको इमान्दारी र सच्चापनले जित्यो । 

देख्दै नदेखी, नजिकबाट नबुझी पनि सम्मान गर्ने र आफूलाई बुझ्ने केटो भेट्न कुवेतबाट यूएईसम्म आएकी क्रिष्टिनाले हिमालयसँगको सम्बन्ध अघि बढाउने निर्णय गर्नुभयो । 

छोरीले माया गरेको केटाप्रति क्रिष्टिनाको परिवारलाई भने कुनै आपत्ती थिएन । तर विदेशी केटीसँग बिहे गर्न हिमालयको अघिल्तिर अनेक व्यवधान थिए ।

एक वर्षअघि नै परिवारले हिमालयका लागि केटी हेरिसकेको थियो । बिहे हुने तयारी पनि भइसकेको थियो । तर केटीको परिवारमा केही समस्या आएर बिहे एक वर्षपछि सरेको थियो । 

त्यो बेला हिमालयसँग दुई विकल्प थिए । कि परिवार र समाजको विरुद्धमा जाने कि त आफ्नो माया छाड्ने । त्यो बेला हिमालयलाई लाग्यो – मायामा धोका दिनु भनेको परिवार र समाजको विरुद्धमा जानुभन्दा ठूलो अपराध हो । संसार नै आफ्नो मायाको विरुद्धमा लागे पनि क्रिष्टिनालाई नछाड्ने अठोट गर्नुभयो । 

‘बिहे गर्न एक्लै फिलिपिन्स् गएँ’

कमाउन गएको छोरोले विदेशी केटी बिहे गर्छु भन्दा परिवारले चित्त दुखाउनु अस्वभाविक थिएन । हिमालय भन्नुहुन्छ, ‘कसैको मनसँग खेलेर छाड्नु पनि त ठिक थिएन, त्यसैले एक्लै भए पनि उसलाई लिन फिलिपिन्स जान्छु भनेर गएको हुँ ।’

नेपालमा बिहे भएको छैन भन्ने प्रमाण आवश्यक थियो । हिमालयले आफन्तको सहयोग लिएर त्यो कागज यूएईमा मगाउनुभयो । यूएईबाट फिलिपिन्स जाने भिसा र टिकट मिलाउनुभयो । आफ्नो मायालाई लिन एक्लै यूएईबाट फिलिपिन्स उड्नुभयो ।

न बुवाआमा छन्, न त जन्ती । नाम मात्रै सुनेको देशमा आकाशमा उड्दै बेहुलो भएर जाँदा हिमालयको मनमा एउटै डर थियो, ‘विमानस्थलमा लिन आएनन् भने के गर्ने ?’

क्रिष्टिना बिहेका लागि बिदा लिएर पहिले नै फिलिपिन्स गइसक्नुभएको थियो । आफ्नो लागि घरपरिवार र समाजलाई चुनौती दिँदै आएको मानिसलाई लिन नआउने कुरै भएन । क्रिष्टिनाको परिवारको सहयोगले नै हिमालयले फिलिपिन्सको टक्लोवन पुगेर २००७ को अन्तिमतिर बिहे गर्नुभयो ।

‘हाम्री छोरीसँग खुशी हुन सक्छौ भनेर उनीहरुले सोधेका थिए । खुशी नहुने भए त्यहाँसम्म जाने पनि थिइनँ,’ हिमालयले छेवैमा बसेकी क्रिष्टिनातिर हेर्दै भन्नुभयो, ‘उनीहरुलाई पनि साँच्चै माया गर्दो रहेछ भन्ने भयो होला, मलाई पनि उनको मायाले नै हो, त्यहाँसम्म पुर्‍याएको ।’

‘हाम्रोमा त मन पराएको मानिसलाई नदिने भन्ने हुँदैन, मैले आमालाई म उसँग भए खुशी हुन सक्छु, उसको घर जहाँ होस् त्यसले फरक पार्दैन भनेकी थिएँ,’ क्रिष्टिनाले थप्नुभयो ।

क्रिष्टिनालाई आफ्नो मायामा पूर्ण विश्वास थियो । हिमालयलाई क्रिष्टिनाले आँखा चिम्लेर विश्वास गर्नुको कारण बिहे गर्न एक्लै फिलिपिन्स पुग्नु मात्र थिएन ।

क्रिष्टिनाको नजरमा हिमालय इमान्दार थिए । असाध्यै माया गर्थे । क्रिष्टिनाको हरेक दुःखसुःखमा साथ दिन्थे । क्रिष्टिनालाई सम्मान गर्थे । क्रिष्टिनाले हिमालयलाई विश्वास गर्ने अर्को आधार थियो । 

‘माया कसरी नाप्ने मलाई थाहा छैन, तर मलाई लाग्छ आइ लभ यू भन्नु मात्र माया हैन, माया विश्वास हो, एकले अर्कालाई गर्ने सम्मान हो, समझदारी हो, त्यसैले त आज हामी खुशी छौं,’ क्रिष्टिनाले आफूले अनुभव गरेको मायाको व्याख्या गर्नुभयो । 

हिमालयको परिवार यो बिहेको विरुद्धमा थियो । ‘परिवारले त मलाई त सक्किइस् नै भने नि, कसैले नगरेको तैले गरिस्, हाम्रो बिरुद्धमा गएर यस्तो गर्ने कसरी सोचिस् भनेर घरमा भुईंचालो नै आयो,’ हिमालय आफूले बिहे गर्दाको त्यो अप्ठ्यारो परिस्थिति सुनाउनुहुन्छ, ‘लभ गरे पनि बिहे चाहिँ गरिहाल्न नुहने भन्ने घरको कुरा थियो, अप्ठ्यारो त कति आयो आयो ।’

बिहेपछि दुवै जना यूएई पुग्नुभयो । केही समय यूएई बसेर दुवै जना नेपाल आउनुभयो । हिमालयकी सानीमा काठमाण्डौमा बस्नुहुन्थ्यो । सानीमाकै घरबाट पशुपती गएर दोस्रो पटक बिहे गर्नुभयो ।

त्यसपछि केही समय नेपाल बसेर क्रिष्टिना फिलिपिन्स फर्किनुभयो । उताको चलन अनुसार बिहे भएपछि छोरी केही समय माइतमा पनि बस्नुपर्छ । त्यसैले झण्डै ६ महिना माइती बस्नुभयो । हिमालय काममा यूएई नै जानुभयो ।

योबीचमा दुवैबीच नेपालमै गएर केही गर्ने सल्लाह भयो । हिमालयले छुट्टी मिलाउनुभयो । एउटै जहाजमा नेपाल आउने व्यवस्था मिलाएर दुवैजना सन् २००९मा नेपाल फर्किनुभयो । 

हिमालय क्रिष्टिनालाई लिएर घर जानुभयो । मायाको अघिल्तिर परिवारको विरोध कति टिक्थ्यो र । ‘केही समय त निकै रिसाउनुभयो, तर अब घरमै ल्याइहाल्यो भन्ने भएपछि टीका लगाएर भित्र्याउनुभयो,’ आफ्नो मायाले जितेको त्यो दिन सम्झँदा हिमालयको मन अहिले पनि फुरुङ्ग हुन्छ । हिमालयले विदेशी श्रीमती लिएर घर जाँदा गाउँभरिका मानिस जम्मा भए । 

हिमालयले विदेशी केटी ल्याउँदैछ रे भनेर गाउँमा ठूलै हल्ला चल्यो - ‘मोटी, होची, गाला राताराता भएकी केटी देखेर कतिले त ढाँटेछ, लिम्बुनी ल्याएर विदेशी भन्दोरहेछ पनि भने ।’

‘घरको काम सँगै गर्दा भाषा पनि सिकें’

रुपरंग पो गाउँठाउँकै लिम्बुनी जस्तो थियो त । तर क्रिष्टिनालाई नेपालीपनमा रमाउन कठिन थियो । बिरानो ठाउँ । बिरानो चालचलन र रहनसहन । न भाषा बुझिने, न काम गर्ने तौरतरिका ।

‘उसले पनि सिकाइहाल्थ्यो तर पनि नयाँ ठाउँ भाषा नबुझ्ने हुँदा कस्तो कस्तो हुने रहेछ’ आफूलाई नेपाली संस्कारमा ढाल्न गरेको प्रयत्न सम्झिंदै क्रिष्टिना भन्नुहुन्छ ‘विदेशमा काम गरेकाले जहाँ जे छ त्यसअनुसार घुलमिल हुन त म सक्थें ।’

बुहारी भएर भित्र्एपछि जाने पनि नजाने पनि घरको काम पहिलो जिम्मेवारी थियो । नेपाली खाना पकाउन अलिअलि त जान्नुभएको थियो । तर त्यो पर्याप्त थिएन । बारीमा तरकारी टिप्नु पथ्र्यो ।

तरकारी टिपेर पकाउन नजान्दा सासुआमाको अनुहारमा रिसाएको भाव देख्नुुहुन्थ्यो । तर कराए पनि गाली गरे पनि नबुझ्ने भएकाले क्रिष्टिनालाई सजिलो भयो । 

‘त्यो बेला भाषा नबुझ्दा नै जाति भयो, भाषा बुझ्ने भए काम नजानेको बेला जे भने पनि मन दुख्थ्यो होला नि’ क्रिष्टिना दिल खोलेर हाँस्नुभयो । बजारमा तरकारी किन्न जाँदा जाँदै क्रिष्टिनाले भाषा सिक्नुभयो । अहिले क्रिष्टिना मज्जाले नेपाली बोल्नुहुन्छ । तर थोरै जिब्रो लटपटिन्छ कुनै कुनै शब्दमा । त्यस्तोबेला अंग्रेजी मिसाउनुहुन्छ ।

बाटो हिँड्दा, गाडी चढ्दा सबैले नाम, थर, र माइतीका बारेमा सोध्थे । माइती फिलिपिन्स् हो भन्दा धेरै कुरा बताउनुपथ्र्यो । त्यसैले सजिलोका लागि क्रिष्टिना सबैलाई आफू लिम्बुनी हुँ भन्नुहुन्थो ।

एक दिन दुवै जना गाडीमा यात्रा गर्दै थिए । हिमालय सिट नपाएर उभिनुभएको थियो । क्रिष्टिना चाहिँ सिटमा । क्रिष्टिनाको छेवैमा बस्ने महिलाले सोधिन् ‘नानी के थरी ?’

नेपाली बुझे पनि धेरै बोल्न सक्ने हुनुभएकै थिएन । त्यसैले ती महिलालाई पनि अरुलाईझैं ‘म लिम्बूनी’ भन्नुभयो ।

‘माइती कता नि ?’ ती महिलाले कुरा अघि बढाइन । तर क्रिष्टिना बोल्नुभएन । उनले अनेक सोधिन् तर जवाफ नआएपछि दुख्नेगरी चिमोटिन् र भनिन् –कस्तो मान्छे रहेछ, किन नबोलेको ? त्यसपछि हिमालय आफैंले ति महिलालाई सम्झाउनुभयो । 

यस्ता घट्ना थुप्रै भए । 

क्रिष्टिनालाई सुत्केरी बेथा लागेको थियो । बेडमा बुहारी सुताएर सासुआमा बाहिर कुर्न बस्नुभयो । 

छेवैमा हुनुहुन्थ्यो हिमालय पनि  । बिरामी कुर्न बसेका केही लिम्बुनी आमाहरुले भने ‘नानी त बाहुन जस्तो छ, बुहारी त हाम्रै जातको पो ल्याएको रहेछ ।’ त्यसपछि क्रिष्टिनालाई ‘फिलिपिनो लिम्बुनी’ भनेर चिनाउन झन मजा लाग्न थाल्यो ।

क्रिष्टिनाले नेपाल र नेपालीसँग जोडिएका हरेक कुरालाई मायाले स्वीर्कानुभयो । मानिसले भन्ने नराम्रा कुरालाई बेवास्ता गर्नुभयो । राम्रा कुरा ग्रहण गर्नुभयो । देश र विदेशसँग के सम्बन्ध र ? मानिसको सम्बन्ध त व्यवहारले बन्छ । क्रिष्टिनाको सकारात्मक व्यवहारले नै घरपरिवार र आफन्तको मन जित्यो ।

सात समुद्र वारिपारिको मायालाई सफल बनाएका हिमालयको जिन्दगीमा क्रिष्टिना आएपछि दुवै मिलेर चालेका हरेक पाइला सफल हुँदै गए ।

यूएईबाट फर्किएपछि हिमालयले साथीहरुसँग मिलेर सहकारी सुरु गर्नुभयो । बिस्तारै ट्राभल एजेन्सी खोल्नुभयो । तर उहाँले धेरै समय चाहिँ सहकारीमै दिनुभयो । बिर्तामोडको शिखर सहकारी अहिले पनि चलिरहेकै छ । 

शिखर बजार डिर्पाटमेन्टल स्टोर, भिभो र सामसुङ मोवाइलको डिलरदेखि शिखर गु्रपबाट गाई र बाख्रा पालन पनि गर्नुभएको छ ।

साथै विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै उहाँले ग्यारेज पनि सञ्चालन गर्नुभएको छ । डिपार्टमेन्टल स्टोरमा छ, ग्यारेजमा चार, शिखर ग्रुपमा चार गरी १४ जना र समुहमा खोलेको शिखर सहकारीमार्फत ३० जनाले रोजगारी पाएका छन् । 

बिर्तामोडको भद्रपुर रोडमा ह्प्पी किचेन 'होटल' पनि छ । होटल भने हिमालयका दाइले चलाइरहनुभएको छ ।

हिमालय र क्रिष्टिनाका एक छोरा र एक छोरी छन् । छोरी आठ वर्षकी भइन् । छोरा चाहिँ पाँच वर्षका । छोराछोरी र कामलाई दुवैजना उत्तिकै महत्व दिन्छन् । समय मिलेसम्म क्रिष्टिना पनि काममा खटिनुहुन्छ । अरुलाई काम गर्ने तौरतरिका सिकाउनुहुन्छ । 

फिलिपिन्स् र नेपालको काम गर्ने तरिका फरक लाग्छ क्रिष्टिनालाई । ‘जस्तो कि म लूगा किन्न गएँ भने देखाउँदै नदेखाइ तिमी मोटी छौ, छैन भनिदिन्छन्, तर हाम्रोतिर त्यस्तो हुँदैन, कस्टुमरलाई जसरी हुन्छ किनेर लानेखालको व्यवहार गर्छौं ।’

नमिठो बोलेर, रुखो व्यवहार गरेर को ठूलो हुन्छ र रु सबैलाई समान व्यवहार गर्नुपर्छ, मानिसको व्यवहारले नै भविष्य निर्धारण गर्छ भन्नुहुन्छ क्रिस्टिना ।

श्रीमानले कमाउनु पर्छ र श्रीमतीले बालबच्चा मात्र हेर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्न क्रिष्टिना । उहाँको यो सोचमा हिमालयको पनि साथ छ । र त दुवै मिलेर हरेक सुखदुःखको सामना गर्छन् । 

पहिले पहिले विदेशी केटी बिहे गरेकोमा रिसाएका हिमालयका आमा बुवा क्रिष्टिना आफै नेपाल र नेपालीको संस्कार र संस्कृतिमा रम्न थालेपछि खुशी देखिन्छन् । 

‘हामी जाहाँ जान्छौं त्यहाँ खुशी हुन सिक्नु पर्छ, जे छ त्यसलाई स्वीकार गर्नुपर्छ,’ क्रिष्टिना मायालु भावमा भन्नुहुन्छ, ‘मैले त यत्रो माया गर्ने मानिस पाएको छु, मेरो जिन्दगी अहिले सामान्य भइसक्यो ।’

माया र विश्वासले उहाँलाई माइतीबाट मात्र हैन आफ्नो देशबाट टाढा छु भन्ने महशुस हुन दिएन । भन्नुहुन्छ ‘जिन्दगीमा खुशी र माया कसरी नापिन्छ मलाई थाहा छैन तर म एकदम खुशी छु’ । यसो भनिरहँदा क्रिष्टिनाका अनुहारमा खुशीको भाव झल्कियो ।

मेहनत गर्नुपर्छ । त्यसमा परिवारको साथ चाहिन्छ । मेहनत र साथले नै हिमालय र क्रिष्टिनाले आज हरेक दुःख र अप्ठ्यारालाई जितेका छन् । दुवैको जीवनको मन्त्र एउटै छ, ‘ढाँट्न हुँदैन, कसैको पनि विश्वास तोड्न हुँदैन, सोच फराकिलो हुनु पर्छ ।’

माया र सफलताका कुराको बिट मार्दै गर्दा हिमालयले अनुरोध गर्दै भन्नुभयो ‘विदेशी केटी बिहे गर्‍यो भनेर अन्यथा नलिइदिनु होला, माया देशसँग मात्र हैन मनसँग पनि बस्दोरहेछ ।’

अन्तिम अपडेट: मंसिर २४, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Himal prasai

    Nov. 14, 2019, 1:23 p.m.

    Thank you so much Sanjita sis & ur intire team .

  •  0 Reply

तपाईको प्रतिक्रिया