सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

 मंसिर ५, २०७६ बिहिबार १४:५९:३ | उज्यालो सहकर्मी

काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ ।

श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर फर्किनुभएको हो ।

आठ वर्षअघि उर्जा मन्त्रीबाट बाहिरिंदा पनि विष्ट सिंहदरबारबाट हिँड्दै बाहिरसम्म आएर ट्याक्सी चढेर घर फर्किनुभएको थियो । बिहीबार श्रम मन्त्रीबाट बाहिरिंदै गर्दा पनि उहाँले सबैलाई धन्यवाद दिँदै सिंहदरबार बाहिरसम्म हिँडेर ट्याक्सी चढेर फर्किनुभएको हो ।

‘मलाई २० महिनाको अवधिमा कम्तीमा यो अवसर दिएर श्रम क्षेत्र र यसका समस्या बुझ्ने र नागरिकको लागि काम गर्दा आउने कठिनाई बुझ्ने मौका दिएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, ’ मन्त्री विष्टले भन्नुभयो, ‘ म मन्त्री पदमा रहे पनि, नरहे पनि सुखी नेपाल र सम्बृद्ध नेपाल निर्माणका लागि मेरो साथ सधैं रहनेछ ।’ श्रम तथा रोजगारका क्षेत्रमा आफूले गरेको कामको समीक्षा गर्दै मन्त्री विष्टले नवनियुक्त मन्त्रीलाई काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मन्त्रालयले बाँकी कामलाई जुन उचाईबाट काम गर्नु पर्नेछ, त्यसलाई अघि बढाउन नवनियुक्त मन्त्रीलाई मेरो साथ र सहयोग रहने छ ।’ मन्त्री पदमा नरहे पनि आफ्नो बाँकी जीवन नागरिककै हितको कामका लागि खर्चिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री विष्टले अन्यायमा परेका नागरिकका लागि सधै आवाज उठाउने बताउनुभयो । 

 

‘गरिबी अभाव र अन्यायमा रहेका नागरिक जहाँ जहाँ अन्यायमा पर्नेछन् त्यहा त्यहाँ मेरो आवाज गुन्जिने छ,’ विष्टले भन्नुभयोे ‘त्यसका लागि मन्त्री नभएर पनि म क्रियाशिल नै रहनेछु ।’

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया