नेपाल भ्रमण वर्ष-२०२० को भव्य शुभारम्भ गरिने

 मंसिर ६, २०७६ शुक्रबार १७:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औंँ हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदाे जनवरी १ का दिन काठमाण्डौमा ५० औँ हजार जनसमुदायबीच भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गर्नुभएको हो ।

भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भइरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर भ्रमण वर्षको शुभारम्भ गर्न झण्डै ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताउनु भयो । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ । 

मन्त्री भट्टराईले भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले हिमाललाई चढ्न सुविधा दिने याेजना बनिरहेकाे बताउनुभयाे । माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्ने गरेकाेमा त्यसमा पनि छुट दिने तयारी गरेकाे र भिसा लगाउने कुरामा पनि केही छुट हुने उहाँले बताउनुभयाे। 

कार्यक्रममा मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि खुला गर्न लागिएको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,‘हामी केही हिमाल आरोहणका लागि खुला गर्ने योजनामा छौँ । काठमाण्डौ आउने पर्यटकहरु सगरमाथा, अन्नपूर्ण, पोखरा, सौराहाजस्ता चल्तीका पर्यटक गन्तव्य जानुहुन्छ । हाम्रो जोड यसपटक नयाँ पर्यटक गन्तव्यलाई प्रचार गर्नेतर्फ छ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया