दलितको घर भन्दै मण्डप छाडेर भाग्ने पुजारी थुनामा

 मंसिर ६, २०७६ शुक्रबार १८:५८:९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - छुवाछुत तथा अपमानजनक व्यवहार गरेको आरोपमा एक जना पुजारीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि आएका पुजारीहरु भिमप्रसाद पोख्रेल र अर्का नाम नखुलेका एक पुजारीलाई बोलाइएको थियो । तर उनीहरु घरमुली दलित भएको थाहा पाएपछि बहाना बनाएर पूजा मण्डपबाट भागेको घुरमुली मिलनले बताउनुभयो ।

यसरी मण्डप छोडेर भागेका दुई पुजारीउपर प्रहरीले छुवाछुत तथा अपमाजनक व्यवहारको कसुरमा शुक्रबार मुद्दा दर्ता गरेको छ । पूजा मण्डप छाडेर भाग्ने पुजारी वाणगंगा नगरपालिका वडा नं. ८ चप्पर गाउँ का ६५ वर्षीय भिमप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्का नाम नखुलेको भनिएका पुजारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुजारी पोख्रेललाई ७ दिनको म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । छुवाछुत तथा अपमाजनक व्यवहारको कसुर प्रमाणित भए ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिबाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

पुजारीले दलित भनेर पूजा मण्डप नै छोडेर गएको यो घटनाले आफू निकै दुःखी र अपमानित भएको घरधनी मिलन विश्वकर्माले बताउनुभयो । दुवै जना पुजारीउपर कडा कारबाही हुनु पर्ने उहाँको माग छ ।

घटनाको निन्दा गर्दै मधेस मानव अधिकार गृहले एक प्रेस विज्ञप्ति जारी गरी दोषीउपर कडा कारबाहीको माग गरेको छ । २१ औं शताब्दीमा छुवाछुत तथा अपमानजनक व्यवहार गर्नु खोज्नु मानव अधिकारको गम्भीर उल्लघंन रहेको भन्दै गृहका अध्यक्ष रवि ठाकुरले घटनालाई सत्य तथ्य छानबिन गरी दोषीलाई उम्किन नदिन स्थानीय प्रहरी प्रशासनसँग आग्रहसमेत गर्नु भएको छ ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया