वैदेशिक रोजगारीका कारण मानसिक समस्या भएकालाई नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने

 मंसिर २०, २०७६ शुक्रबार १७:५९:५६

धादिङ – वैदेशिक रोजगारीबाट मनोसामाजिक समस्या भएर फर्किकालाई नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

आर्थिक अभावको कारण औषधि उपचार गर्न नसक्ने नागरिकलाई नगरपालिकाले १० हजार रुपैयाँसम्म सहयोग गर्ने नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले बताउनुभयो । 

औषधि उपचार गर्न समस्यामा परेका मानसिक रोगीलाई उपचारको लागि आर्थिक सहयोग र मनोविमर्श सेवासमेत एकै साथ प्रदान गरिने मेयर ढुङ्गानाले जानकारी दिनुभयो । 

सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारीको कारण उत्पन्न मनोसामाजिक समस्या तथा मानसिक रोगको बिरामीका लागि नगरपालिकाले कोष नै खडा गरेर सेवा दिन लागेको हो ।

खाडीबाट पठाएको रेमिट्यान्सबाट देश चलिरहेको समयमा उनीहरुको पीर मर्कामा नगरपालिकाले सहयोग गर्न चाहेको मेयर ढुङ्गानाको भनाई छ । 

वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यमध्ये ६० प्रतिशतमा कुनै न कुनै मनोसामाजिक समस्या देखिने गरेको मनोविमर्शकता रामकुमार थापाले बताउनुभयो ।

मनोसामाजिक समस्यामा रहेकाहरुलाई मनोविमर्शबाट समस्या कम गर्न सकिने र केहीलाई औषधि र परामर्श आवश्यक पर्ने भएकाले पनि नागरपालिकाको यो प्रयासले समस्यामा पर्नेलाई राहत पुग्ने विश्वास लिइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया