महिला खेलाडीले जितेका पदकमा चम्कँदो स्वर्ण सन्देश

 मंसिर २३, २०७६ सोमबार १२:५७:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सँगसँगै भैरहेको छ । अघिल्ला वर्षहरुमा १६ दिने अभियान मात्रै हुँदा महिलामाथिका हिंसा, विभेद, अन्याय र अत्याचारका कुराले सबैलाई निराश बनाउँथ्यो । 

तर यसपटक महिलाका यी तमाम पीडा र व्यथालाई महिला खेलाडीले ओझेलमा पारिदिएका छन् । सागमा नेपाली महिला खेलाडीले देखाएको प्रदर्शनले हिंसा र विभेद खेप्न बाध्य महिलाहरुलाई समेत आत्मबल र हौसला थपेको छ । 

यसपालीको सागले प्रस्ट पारेको छ कि नेपाली महिला दौडन, उफ्रन, पौडिन मात्र होइन कराँते र कुस्तीमा पनि अरुभन्दा अब्बल छन् । यी खेलमा महिला खेलाडीले पाएका पदकले देशको शान र मान अग्लिएको छ । देशको नाम चम्काउने यो पौरखमा उनीहरुको लगन, मेहनत र आत्मविश्वाससँगै परिवारको साथ, सहयोगले पनि ठूलो भूमिका खेलेको छ । पदक जति वजनदार छ, यसको सन्देश पनि उत्तिकै स्वर्ण र बहुमूल्य छ ।

सागमा नेपाली महिला खेलाडीले देखाएको प्रदर्शनले मुख्य तीन सन्देश दिएको छ । एक – नेपाली महिला शारीरिक र मानसिक रुपमा सक्षम र सफल छन् । दुई- बाआमा, श्रीमान, छोराछोरी र परिवारको साथले उनीहरुको सफलतालाई अझ बढी टेवा पुग्छ । तीन- तेक्वान्दो, कराँते, कुस्तीजस्ता खेलमा बलियो आत्मरक्षासँगै सुन्दर भविष्य पनि छ ।

सबैभन्दा पहिले कुरा गरौं तेक्वान्दो खेलाडी आयशा शाक्यको । शाक्य दुई छोराकी आमा हुनुहुन्छ । धेरैले ठान्छन् – बिहेपछि महिलाको करिअर सकिन्छ, बच्चा जन्माएपछि त महिला झन् कमजोर हुन्छन् । उनीहरुले पहिले जत्तिकै काम गर्न र क्षमता देखाउन सक्दैनन् । तर दुई सन्तानकी आमा आयशाले यस पटक सागमा दुईवटा स्वर्ण जित्नुभयो । बिहे गरेका र आमा बनेका खेलाडीको लागि मात्र होइन, सबै महिलाका लागि आयशा प्रेरणा बन्नुभएको छ ।  उहाँको सफलतामा परिवारको साथ र सहयोग पनि उत्तिकै महत्वपूर्ण छ ।

अझै पनि धेरै बाबुआमा छोरीलाई पढाइ बाहेक खेलकुद र अरु रचनात्मक क्रियाकलापमा लागेको मन पराउँदैनन् । तर तेक्वान्दोमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोककी काजल श्रेष्ठलाई बुबाले सधैं सपोर्ट गर्नुभयो । सानो छँदादेखि नै उहाँलाई कराँते खेल निकै मन पर्थ्याे । पढाइसँगै कराँते सिक्नुहुन्थ्यो ।

त्यस्तो बेला उहाँलाई बुबाले कहिल्यै गाली गर्नुभएन । उल्टै हौसला थप्नुभयो । त्यसैले सागमा स्वर्णपदक पाउनेबित्तिकै उहाँ आफ्नो बुवा सम्झेर भक्कानिनुभयो । अहिले उहाँका बुबा साउदी अरबमा गाडी चलाउनुहुन्छ । बुवाकै साथ र सहयोगले काजल अगाडि बढ्न सफल हुनुभएको हो । 

कराँते खेलाडी सुनिता महर्जनलाई पनि बुवा र परिवारका अरु सदस्यको साथ सहयोग छ । उहाँका वृद्ध बुवा नाति महर्जन छोरीको खेल हेर्न मैदानमै पुग्नुभएको थियो । कराँतेमा स्वर्ण हात पारेपछि सुनिताले आफ्नो अघिल्तिर बुवालाई देख्नुभयो । बुवालाई अँगालो मार्नुभयो । दुवै बावुछोरीले हर्षका आँसु झारे । 

कञ्चनपुरकी संगीता धामीले कुस्तीमा जितेको पदकमा झन् धेरै स्वर्ण सन्देश मिसिएको छ । छोरी भएकै कारणले उहाँलाई बुवाले हेलाँ गरे । दुई बहिनीहरु जन्मिएपछि त बुवाले सबैलाई छाडेर अर्को बिहे गरे । आमाले संगीता र बहिनीहरुलाई दुःखकष्टका साथ हुर्काउनुभयो । कुस्तीमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल संगीताले पढाइ र खेललाई सँगसँगै अगाडि बढाइरहनु भएको छ । छोरी मात्र जन्मिए भनेर बाबुले हेलाँ गरे । आज तिनै छोरी संगीताले आमाको मात्रै होइन, सिंगै नेपालको शिर ठाडो बनाइदिनुभएको छ । 

स्वर्ण जितेपछि संगीता आफू र बहिनीलाई दुःख गरेर हुर्काउने आमा सम्झिँदै रुनुभयो । कुस्ती हेरिरहेका दर्शक, खेलाडी र प्रशिक्षकलाई समेत भावुक बनाउनुभयो । अनि आफूले जितेको स्वर्ण आमाको नाममा अर्पण गर्नुभयो ।

कुस्तीमा स्वर्ण जित्ने संगीताकी आमा खेल हेर्न जान पाउनुभएन । तर उसुमा दुईपल्ट स्वर्ण जित्ने निमा घर्ती मगरका बाआमा भने छोरीको खेल हेर्न मैदान पुगेका थिए । छोरीले खेल जितेर देशको लागि पदक दिलाएकोमा उनीहरु खुशी भए । बाआमाले छोरीलाई खादा लगाइदिए । निमाले आफ्नो स्वर्ण पदक आमालाई लगाइदिनुभयो ।

सागमा स्वर्ण जित्ने सबै नेपाली महिला खेलाडीले यसैगरी परिवार र देशको मन जितेका छन् । पौडीकी गौरिका सिंह, म्याराथनकी पुष्पा भण्डारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, साइक्लिङकी निश्मा श्रेष्ठ र लक्ष्मी मगर, ट्रायथोलनकी सोनी गुरुङलगायत महिला खेलाडीले जितेका हरेक स्वर्ण पदकमा उस्तै स्वर्ण सन्देश मिसिएका छन् ।

यी खेलाडीले अरु नेपाली महिलालाई हौसला र आत्मबल थपेका छन् । जुनसुकै अवस्थामा पनि महिला शारीरिक र मानसिक रुपमा सक्षम र सफल छन् भन्ने उदाहरण बनेका छन् । अनि अझै पनि महिलामाथि हिंसा, विभेद, अन्याय र अत्याचार गर्ने पुरुषहरुलाई झस्काउन सफल भएका छन् । आफूले जितेको स्वर्ण पदकमा धेरैथरी स्वर्ण सन्देश छर्न सफल सबै नेपाली महिला खेलाडीलाई हार्दिक बधाइ ।

अन्तिम अपडेट: चैत २, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया