वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले चट्टानै चट्टानले ढाकिएको ककनी डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्ने तयारी थालेको छ ।
हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि नगरपालिकाले ढुङ्गे बगैँचा निर्माणको तयारी थालेको हो । विभिन्न आकृतिका ढुङ्गैढुङ्गाले ढाकिएको डाँडालाई रक गार्डेन का रुपमा विकास गर्न (विस्तृत परियोजना प्रतिवेदन) डीपीआरको काम अन्तिम चरणमा पुर्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका-७ को महादेवस्थानमा पर्ने ककनी डाँडाकाे झण्डै एक सय ६० रोपनी सरकारी जग्गा चट्टानै चट्टानले ढाकिएको छ । त्यसमध्ये ५६ रोपनी जग्गाभित्रका चट्टानलाई समेटेर रक गार्डेन बनाउने लक्ष्य राखिएको छ ।
हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र उनीहरुकाे बसाइ केही लम्ब्याउने उद्देश्यले ककनी डाँडामा रक गार्डेनको परिकल्पना गरिएको हो ।
रक गार्डेन बनाउनका लागि डाँडामा रहेका कुनै पनि ढुङ्गालाई नबिगारी/नचलाइ सजावटका काम गरिने तयारी गरिएको मेयर राईले बताउनुभयो ।
ककनीडाँडा विशेषगरी उत्तरतर्फका हिमश्रृङ्खला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ ।