मुगुमा स्याउ उत्पादन घट्ने

 साउन १०, २०७५ बिहिबार ११:११:१२ | श्याम बिसी
unn.prixa.net

मुगु – मुगुमा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । स्याउ उत्पादनका लागी मुगुमा पकेट क्षेत्र मानिएका ठाउँमा निकै कम मात्र स्याउ फलेपछि किसान चिन्तित भएका छन् । मुगुका लागि सबैभन्दा धेरै स्याउ उत्पादन हुने क्षेत्रमा ताल्चा, बाम शोभा, चिमाथलगायतका क्षेत्र पर्दछन् । जहाँका किसानले स्याउ बेचेर वर्षको २ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेका थिए । यस वर्ष आधा पनि आम्दानी नहुने उनीहरुले बताएका छन् ।

आफ्नो बारीमा रहेका १ सयभन्दा बढी स्याउका बोटमध्ये केहीमा फल्दै नफलेको र फलेका बोटमा पनि कम मात्र फलेको  छायाँनाथ रारा नगरपालिका ५ ताल्चाका बिर्खबहादुर रोकायाले बताउनुभयो । आफू र आफ्नो परिवारले गरेको दुःख अनुसारको आम्दानी नहुने निश्चित भएको उहाँको भनाई छ । ताल्चाकै किसान शिवराज भामले गएको वैशाख जेठमा परेको असिना–पानीले स्याउको फुल नै झारिदिएकाले स्याउ नफलेको अनुमान गरेको बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिकाको १४ नम्बर वडाका अध्यक्ष नन्दलाल बडुवालले अनुसार आफ्नो वडामा १२÷१५ मेट्रिक टन स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष उत्पादन घट्ने निश्चित भएको बताउनुभयो । कृषकहरुका लागि स्याउ खेती नै मुख्य आयश्रोत भएकाले उत्पादन कम भएपछि किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको  उहाँले बताउनुभयो । २÷३ वर्षयता मुगुमा गाडी पुगेपछि स्याउ निर्यात हुन थालेपछी स्याउखेतीमा आकर्षण बढ्दो छ । नगरपालिकाको १४ नम्बर वडाका युवा जुनबहादुर खड्काले यसबर्ष स्याउ निकासीभन्दा पनि जिल्लाकै माग धान्न नसक्ने अवस्था आएको बताउनुभयो ।

मुगुको स्याउ कर्णाली राजमार्ग हुदै सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायतका मुलुकका अन्य शहरहरुमा निर्यात हुने गरेको छ । मुगुमा गएको बर्षमा ३ हजार ३ सय ९१ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार यसअघि बर्सेनि २५ सय मेट्रिक टन स्याउ निर्यात हुने गरेको छ । जिल्लामा स्याउबाट करिब ४५ लाख बढी रकम भित्रिने गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख चतुर्भुज चौधरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्याम बिसी

मुगुका उज्यालो सहकर्मी श्याम बिसी रेडियो मुगुमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया