भोजपुर : भारतबाट उद्धार गरिएकालाई राख्न होल्डिङ एरिया

 जेठ २०, २०७७ मंगलबार ७:३६:२८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भारतीय सीमाबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरियासहितको १ सय १५ शय्या क्षमताको क्वरेन्टीन बनाइएको छ । 

रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लावासीलाई ल्याएर राख्नका लागि व्यवस्थित रुपले क्वरेन्टीन बनाइएको हो ।

पहिलो चरणमा भैरहवाको सुनौली नाकाबाट साल्पासिलिछो गाउँपालिकाका ७ जना, षडानन्द नगरपालिकाका ६ जना, झापाको काकाडभिट्टा नाकास्थित पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाका लगायतका ४० जनालाई ल्याएर अरुण गाउँपालिकाको रानीटारमा रहेको होल्डिङ एरियाको क्वरेन्टीनमा राखिएको छ । 

विभिन्न रोजगारीको सिलसिलामा भारतको सीमानाकामा अलपत्र आफ्ना नागरिकको उद्धार गर्ने काम थालिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सीमा क्षेत्रमा आएका भोजपुरका नागरिकलाई होल्डिङ्ग एरियामा ल्याएर राख्छौँ र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकालाई जिम्मा लगाउने व्यवस्था मिलाएका छौँ।’ 

विशेषगरी सीमा क्षेत्रमा रोकिएका सर्वसाधरण रातरात भागेर आउनाले संक्रमण फैलिने सम्भावना बढेपछि सुरक्षित तरिकाबाट उनीहरुलाई ल्याएर क्वरेन्टीनमा राख्ने तयारीमा जिल्ला प्रशासन र स्थानीय तह जुटेका हुन् । 

संक्रमणको डरसँगै उनीहरुलाई व्यवस्थापन गर्न समस्या हुने भएकाले सम्बन्धित पालिकाले आफ्ना नागरिकको उद्धारमा दायित्वबोध गर्नुपर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की सुनाउनुहुन्छ ।

उद्धार गरिएका नागरिकको स्वाब संकलन परीक्षण गरेपछि नेगेटिभ रिपोर्टको आधारमा सम्बन्धित स्थानिय तहको क्वरेन्टीनमा पठाईनेछ । परीक्षणका क्रममा कसैको रिपोर्ट  पोजेटिभ देखिए उपचारका लागि धरान अथवा विराटनगरको कोराना विशेष अस्पताल पठाइने व्यवस्था गरिएको छ । 

सीमाबाट ल्याइएका नागरिकलाई व्यवस्थापनका लागि सम्बन्धित ९ वटै पालिकासँग समन्वय भइरहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति लक्ष्मण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै पालिकाहरुसँग समन्वय भइरहेको छ, अरु कुनै पनि नाकाबाट जिल्ला आउन पाइने छैन, एउटा मात्र नाका खुल्ला गरेका छौँ ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया