पसल खोल्न आएका व्यवसायीलाई प्रहरीले रोक्यो

 जेठ २८, २०७७ बुधबार १९:५४:४ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउन बेवास्ता गर्दै पसल सञ्चालन गर्न खोज्ने व्यवसायीलाई प्रहरीले रोकेको छ।

काठमाण्डौको न्यूरोडलगायतका क्षेत्रमा लकडाउनको कारण आफ्नो रोजीरोटी गुम्न लागेको भन्दै पसल सञ्चालन गर्न आएका व्यवसायीलाई आज प्रहरीले खोल्न दिएन ।

सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार नियम उल्लङ्घन गरेकाले पसल सञ्चालन गर्न रोकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले सरकारी आदेश नआएसम्म तोकिएकाबाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न नदिइने बताउनुभयो । ‘बिहान केही व्यक्ति पसल खोल्न भनेर आउनुभएको थियो । हामीले रोक्यौँ । सरकारले जारी गरेको आदेशको पूर्ण पालनामा प्रहरी कटिबद्ध छ । लकडाउन उल्लङ्घन हुन नदिन प्रहरी सचेत छ,' यादवले भन्नुभयो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न गएको चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । पटक पटक समय थप्दै यही जेठ ३२ गतेसम्म लकडाउन कायमै छ । 

यसबीचमा त्यसको ढाँचा परिवर्तन गर्न सरकारले गृहकार्य गरिरहेको छ । लकडाउनलाई खुकुलो पार्दै लैजाने विषयमा समेत छलफल जारी रहेका बेला जेठ २१ गते साना व्यवसायीले एकतर्फी रुपमा पसल खोल्ने निर्णय गरेका थिए । केही दिन पसल सञ्चालन भए पनि मङ्गलबारदेखि भने प्रहरीले पसल सञ्चालनमा रोक लगाउँदै आएको छ । 

काठमाण्डौको बालुवाटार तथा न्यूरोड क्षेत्रमा मङ्गलबार व्यवसायीले प्रदर्शनसमेत गरेका थिए । बालुवाटारमा प्रदर्शन गर्न आएका युवाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन, क्वरेन्टीन व्यवस्थित गर्नसमेत माग गरेका थिए । 

उनीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिएको थियो । व्यवसायीले भने पसल खोल्न पाउनुपर्ने माग कायमै राखेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया