उपचार नपाएरै सुत्केरीको ज्यान जान्छ कर्णालीमा, तीन वर्षमा ६१ सुत्केरीले गुमाए ज्यान

 भदौ १४, २०७७ आइतबार १३:४५:३४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – गएको भदौ १२ गते दैलेख ठाँटीकाँध गाउँपालिका १ की पार्वती शाहीको  सुत्केरी भएपछि अत्यधिक रगत बगेका कारण ज्यान गयो ।

सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगिएकोमा उपचार सम्भव भएन । जिल्लामासमेत उपचार सम्भव नहुने देखिएपछि प्रदेश अस्पतालमा रेफर गरियो । तर  लैजानको लागि एम्बुलेन्स भएन । स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएर  थन्किएकाले गाडीमा नै सुर्खेत लैजाने क्रममा उहाँको ज्यान गयो ।  

यस्तै गएको भदौ ११ गते कालिकोटको रास्कोट नगरपालिका २ की २८ वर्षीया सिता शार्कीको  पनि सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण ज्यान गयो । घरमै सुत्केरी हुनुभएकी उहाँको समयमै अस्पताल पुर्याउन नसकेपछि ज्यान गएको हो । बच्चा जन्मिएपछि नजिकैको  स्वास्थ्यचौकीमा लगियो । त्यहाँ उपचार सम्भव भएन । त्यसपछि सामुदायिक अस्पताल रास्काेटमा रेफर गरियो । तर सडक अवरुद्ध भएकाले अस्पताल पुर्याउन नसकेपछि आमा र बच्चा दुवैको ज्यान गयो । 

पार्वती र सिताजस्तै कर्णालीका धेरै सुत्केरी महिलाको समयमै उपचार नपाएर ज्यान जाने गरेको छ । भौगोलिक विकटता, परिवारको लापरबाही,  यातायातको असुविधा, स्वास्थ्य सेवाको पहुुँच नहुनु, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा डाक्टरको अभाव, स्वास्थ्य सामग्रीको अभाव लगायतका कारण सुत्केरीको ज्यान जाने गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका  जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । 

‘गर्भवती तथा सुत्केरीलाई उपचारका लागि लैजान घर परिवारबाटै ढिला हुुन्छ, उनीहरु चेतनाको कमी र बेवास्ताका कारण जाँच गर्न जाँदैनन्’, उहाँले भन्नुयभो, ‘अर्को कारण भनेको ग्रामिण क्षेत्रमा डाक्टर तथा स्वास्थ्य समाग्रीको अभाव छ,  यस्तै याताया सुविधा नहुनु पनि अर्को कारण हो ।’

कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको डेढ महिनामा मात्रै समयमै उपचार नपाएर चार जना सुत्केरीको ज्यान गएको छ । साउनयता दैलेख र कालिकोटमा एक÷एक जना र जाजरकोटमा दुई जना सुत्केरीको ज्यान गएको हो ।प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा कर्णालीमा ६१ जना सुत्केरीको ज्यान गएको छ ।    

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निःशुल्क हवाई उद्धार हुँदै आए पनि प्रभावकारी हुन सकेको छैन । यो कार्यक्रमले केही सुुत्केरी तथा गर्भवतीको ज्यान बचाउन सफल भए पनि सबैलाई समेट्न नसकेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । समयमै जानकारी नपाउँदा उद्धारमा कठिनाइ हुने उहाँको भनाइ छ ।

हवाई उद्धार वैकल्पिक उपाए भए पनि दीर्घकालीन समस्या समाधान भने होइन । विभिन्न जिल्लामा विशेषज्ञ डाक्टर पठाएको उहाँको भनाइ छ ।  दीर्घकालीन समाधानका लागि स्वास्थ्य संस्था र अस्पतालहरु सुविधा सम्पन्न बनाउने पहल भइरहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया