भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन् किसान !

 भदौ १४, २०७८ सोमबार २०:१७:२० | विमल बिष्ट
unn.prixa.net

डोटी – सुन्दा पनि अचम्म लाग्न सक्छ । महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही दिए गाईभैँसी बिग्रिने र दूध दिन छोड्छ भन्ने अन्धविश्वास डोटीमा रहिरहँदा पूर्वीचौकी गाउँपालिका २ का किसान भैसीँको दुध बजारमा बिक्री गर्दै मान्दैनन् । बजारमा दूध बिक्री गरे दुधालु भैँसी बिग्रिने तथा दूध दिन छाड्ने अन्धविश्वास कायमै रहेका कारण त्यहाँका किसान दूध बिक्री गर्न नमान्ने गरेको स्थानीयवासी बताउँछन् । 

किसानहरूले दूध बिक्री नगर्दा सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वार बगलेक र झिग्रानाका पसल तथा होटेलमा समेत दूध नहालेको कालो चिया मात्रै बिक्री हुँदै आएको स्थानीयवासी तापसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भैँसी पालेका सिकान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामा चित्त बुझाउनुपर्छ ।’ 

त्यस क्षेत्रका खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको बयारेकमा दूधको माग भए पनि किसानले दुध बिक्री नगर्दा समस्या हुँदै आएको व्यापारीहरू बताउँछन् । त्यहाँका किसानले घरमा आफ्ना परिवारबाहेक अन्य घरबाहिरबाट आएका पाहुनालाई समेत दूध नदिने बरु दिनै परे मही मात्रै मुस्किलले दिने गरेको पूर्वीचौकीका स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । 

डोटीमा सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले भैँसीको दूध बिक्री गरे भैँसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई दूध बिक्री गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।  

संस्थाका अध्यक्ष तथा पूर्वीचौकीका स्थानीयवासी भक्तराज जोशीले बगलेक र झिग्रानामा दूधको निकै आवश्यकक्ता रहेको र किसानलाई दूध बेच्नुपर्छ भन्ने कुरामा प्रोत्साहन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैले दूध बिक्री गरून् भन्ने उद्देश्यले हामी किसानलाई भैँसी नै किनेर दिने तयारीमा छौँ । दूध बिक्री गर्दा भैँसी बिग्रिन्छ, दूध दिन्न भन्ने अन्धविश्वासको अन्त्य गर्नेछौँ ।’ 

यसै क्रममा संस्थाले झिग्रानामा रहेका भैँसी पाल्ने किसान समूहलाई भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले ५० हजार रुपैयाँमा उन्नत जातको राँगा किनेर वितरण गरेको छ ।

त्यस वडामा प्रायः सबैले भैँसी पाल्ने भए पनि दूध कसैले बिक्री नगर्दा दूधका लागि मुस्किल पर्दै आएको पूर्वीचौकी गाउँपालिका २ कुडासैनका स्थानीयवासी भीमबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडामा प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री गर्दैनन् । कोही बिरामी पर्दा दूध चाहिए दूधका लागि अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।’ 

त्यहाँका किसानले दूधबाट घिउ बनाएर भने बजारमा बिक्री गर्ने गरेका स्थानीयवासी श्यामबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या कायमै रहेको हो ।’ 

डोटीमा भैँसी पाल्ने किसान पर्याप्त भए पनि धेरैजसो किसानले गाईभैँसीको दूध बजारमा बिक्री गर्न नमान्दा यहाँका बजारमा छिमेकी जिल्ला डडेल्धुराबाट दूध मगाउनुपर्ने बाध्यता रहेको रामजानकी मिष्ठान्न भण्डार दिपायल पिपल्लाका रामबाबु यादवले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया