किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

 भदौ २५, २०७८ शुक्रबार २०:२:३६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो ।

डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ । 

आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किवीले अहिले राम्रो फल दिन सुरु गरेको दिपायल सिलगढी नगरपालिका सिलगढीका स्थानीयवासी तथा किवी किसान हेम मल्लले बताउनुभयो । आफ्नो बारीमा उत्पादन भएका किवी स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेल्धुरा र कैलालीसम्म माग हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यहाँका किसानले व्यावसायिक रूपमा किवी खेती गरेर मनग्य आम्दानी गर्ने गरेको जोरायल गाउँपालिका ५ गड्सेराका किसान लीलाधर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जमिन भाडामा लिएर किवी खेती गरेका छौँ, किवी राम्रै फलेपछि घरैमा आम्दानी हुन थालेको छ ।’

किवी प्रति किलो स्थानीय बजारमा दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा सहजै बिक्री हुने गरेको उहाँको भनाइ छ । 

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने कृषि केन्द्रको दाबी छ ।   

किवीको नियमित सेवनबाट गर्भवती महिला, मुटुका बिरामीलगायतलाई फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको किवी खेती गर्दै आउनुभएका सिलगढीका स्थानीयवासी एवम् दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताउनुभयो । 

जडीबुटीको उत्पादनमा पनि किवीको प्रयोग हुँदै आएको कृषि प्राविधिकहरू बताउँछन् । किवी खेती १२ सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । किवी खेतीका लागि डोटी उपयुक्त रहेको र किसानलाई प्रोत्साहन गर्न प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया