सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
न्यूयोर्कमा क्यान्सर रोगको उपचार गराइरहेकी चर्चित भारतीय नायिका तथा टेलिभिजन प्रस्तोता सोनाली बेन्द्रेको ‘मुडुलो’ टाउको भएको तस्बिर सामाजिक सञ्जालमा एकदमै भाइरल बनिरहेको छ ।
‘मेटास्टेटिक’ क्यान्सर रोगबाट पीडित बेन्द्रे अहिले न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । उपचारका क्रमका हरेक अनुभव तथा फोटोहरु उनी आफ्ना फ्यानहरुसँग सेयर गरिराख्छिन् । किमोथेरापीको कारणले कपाल खुइलिएपछि उनले कानमा ठूलो मुन्द्रा लगाएर खिचेको फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उक्त तस्बिरमा उनले हातमा ‘जेन्टलमेन इन मस्को’ भन्ने किताब समातेकी छिन् । जुन तस्बिर सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ ।
उनले फोटोमा सोनाली बुक क्लबलाई उद्धृत गर्दै क्याप्सनमा भनेकी छिन्, ‘आज ‘रिड अ बुक डे’ हो । एसबीसी (सोनाली बुक क्लब) को लागि अर्को किताबको घोषणा गर्न यो भन्दा राम्रो तरिका के हुन सक्छ ? यो रुसको एक ऐतिहासिक कथा हो । जसलाई ‘अ जेन्टलम्यान इन मस्को’ भनिन्छ । यो किताबलाई एमोर टोलेसले लेखेका हुन् । यसको सुरुवात एकदमै मन छुने प्रकारको लाग्दैछ । र म अब बाँकी किताब पढ्न गइरहेकी छू ।’
सोनालीले थुप्रै भारतीय चलचित्रमा काम गरिसेकेकी छिन् । उनले सन् १९९४ मा ‘आग’ फिल्मबाट आफनो फिल्म करियर सुरु गरेकी थिइन् ।
सन् २०१३ मा अन्तिम फिल्म ‘वन्स वपन अ टाइम इन मुम्बई दोबारा’ खेलेकी थिइन् । साथै उनले गद्दार, दिलजले, भाइ आदिजस्ता चर्चित भारतीय चलचित्र पनि खेलेकी छिन् ।