छोराछोरी खाेज्दै आमा काठमाण्डाैमा

 मंसिर १७, २०७८ शुक्रबार २०:२८:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको सायल गाउँपालिका २ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र एक छोरीको खोजीका लागि काठमाण्डौ आइपुग्नुभएको छ । २०५७ सालमा नाबालक छोरा नरेशबहादुर र छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआईसिंह गाउँपालिका घर भइ कैलालीको गोदावरी नगरपालिका–८ जमुनाभाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेको गङ्गादेवीले बताउनुभयो ।

जगत्रादेवीले गङ्गादेवीका छोरा–छोरीलाई नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय नक्सालमा भर्ना गरेको र नेपाल बाल सङ्गठनले दुई वर्ष राखी छोरीलाई स्पेनका नागरिक र छोरालाई इटलीका नागरिकलाई धर्मपुत्रका रूपमा पठाएको बाल सङ्गठनको रेकर्डमा देखिएको छ । तर छोरा–छोरीले अहिलेसम्म पनि सम्पर्क नगरेको भन्दै आमा गङ्गादेवी उनीहरूको खोजीका लागि काठमाण्डौ आइपुग्नुभएको हो ।

घरमा अरू कोही नभएको भन्दै गङ्गादेवीले रुँदै भन्नुभयो, ‘निःशुल्क पढाउँछौँ भनेर छोरा–छोरी घरबाट ल्याए, अहिले उनीहरू कहाँ छन्, के गर्दैछन् भन्ने थाहा छैन, उनीहरूसँग मेरो भेट गराइ दिनुपर्‍याे ।’ 
आफ्ना छोरा–छोरीलाई बाल सङ्गठनको जिम्मा दिने भान्जी नाता पर्ने जगत्रादेवीले उनीहरू अहिले कहाँ छन् भन्ने आफूलाई पनि जानकारी नभएको बताउँदै आएको गङ्गादेवीको गुनासो छ । 

ती बालबालिकालाई पढाउने जिम्मा लिएर धर्मपुत्रका रूपमा स्पेन र इटालीका नागरिकलाई जिम्मा दिने नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा समेत ती बालबालिकाका बारेमा थप कुनै खबर आएको रेकर्ड छैन ।

सङ्गठनकी अध्यक्ष विद्या न्यौपानेले २१ वर्षअघि ती बालबालिका बाल सङ्गठनमा भर्ना गरेको र उनीहरूलाई स्पेन र इटली पठाइएको भन्ने रेकर्ड मात्रै आफूसँग भएको बताउनुभयो । अहिलेसम्म अवस्था अज्ञात रहेका ती बालबालिकाको खोजीका लागि महिला तथा बालबालिका मन्त्रालयबाट पहल गरे चाँडो पत्ता लाग्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया