२८ औँ संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

 माघ १२, २०७९ बिहिबार १७:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८ औँ संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । महासंघले बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने बताउनु भयो ।

उहाँले टिकटका लागि सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताउनु भयो । उहाँले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताउनु भयो ।

उहाँले यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने बताउनु भयो । उहाँले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताउनु भयो ।

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ ।

महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ । काठमाण्डौमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताउनु भयो । 

उहाँकाअनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, बाग्मती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको सुरुवात गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया