आन्तरिक पर्यटककाे राेजाइमा सोलुखुम्बुकाे बागबानी

 चैत १२, २०७९ आइतबार ९:२७:१० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा रहेको कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा (बागबानी) आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागबानी नामले परिचित यस फार्ममा वसन्त ऋतु सुरु भएसँगै अवलोकनकर्ताहरुको भिड बढेको हो ।

सोलुदूधकुण्ड नगरपालिका-५ नयाँ बजारकी याङ्जी शेर्पा, फूलसँग हाँस्दै, रमाउँदै तस्बिर खिच्नमा निक्कै व्यस्त हुनुहुन्थ्यो । उमेरले ५० वर्ष कटिसक्नुभएकी याङ्जीले बागबानीको सुन्दर दृष्य र वातावरणमा रमाइरहनुभएकाे थियाे । 

उहाँले भन्नुभयो, ‘कति राम्रो ठाउँ, मलाई त स्वर्ग जस्तै लाग्यो, नानीहरुले आमा बागबानी घुम्न जाउँ न भनेर आ'को यहाँ आउँदा त मान्छे पनि कति धेरै आउने रहेछन्, रमाइलो पनि त्यत्तिकै ।’ तत्कालीन बागबानी विकास केन्द्र रहेको यस ठाउँमा पुग्ने अवलोकनकर्ताहरु ढकमक्क फुलेका फलफूलका फूलहरुसँग रमाएर मात्रै फर्किँदैनन्, कृषि सम्बन्धी विभिन्न ज्ञान समेत लिने गर्छन् । 

बागबानीमै भेटिएका गार्माका कामीसार्की शेर्पाले भन्नुभयो, ‘म यहाँ खासमा यो फलफूल र तरकारी खेतीहरु कसरी गर्नुपर्ने रहेछ भनेर बुझ्न आएको, तर यहाँ आउँदा यति धेरै रमाइलो देखेकी साँच्चै मन आनन्द भयो, यहाँ आएपछि भने साँच्चै वसन्त ऋतु सुरु भएछ भन्ने लाग्षाे ।’ पछिल्लो समय बागबानी पुग्ने अवलोकनकर्ताको सङ्ख्या सोचेभन्दा फरक छ ।

सल्लेरी नजिकै भएकाले पनि दैनिक रुपमा मोटरसाइकल, टेम्पो तथा गाडी नै लिएर बागबानी पुग्नेकाे सङ्ख्या बढिरहेकाे छ । यहाँ पुग्ने कतिपय कर्मचारी, विद्यार्थी तथा बालबालिकाहरु फोटो, भिडियो तथा टिकटक बनाउनमा व्यस्त हुन्छन् । कृषकहरुले अवलोकनसँगै कृषि सम्बन्धी जानकारी लिने गरेकाे बागबानी विकास अधिकृत चन्द्र फडेराको भनाइ छ । ‘अहिले दैनिक १ सय ५० जनासम्म अवलोकनकर्ताहरु यहाँ आउने गर्छन् । कोही बेला त साँच्चै मेला नै पो लागेको होकी भन्ने आभाष हुन्छ ।’ अधिकृत फडेराले भन्नुभयोे ।

सोलुखुम्बुको फाप्लुमा रहेकाे फार्म व्यवस्थापन शाखा (बागबानी) जिल्लाकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो । ३ सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनौँ प्रजातिका फलफूलका बिरुवा, त्यतिकै सङ्ख्यामा तरकारी तथा अन्य बिरुवाहरु समेत छन् । जहाँ बिरुवा उत्पादनदेखि फलफूल उत्पादनसम्मको कार्य हुने गर्दछ । ती हरियाली बोटविरुवाहरुमा ढकमक्क फुलेको फूलहरुले यतिखेर बागबानी झकिझकाउ बनेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया